Connect with us

कपिलवस्तुमा १ सय ४५ पोइन्ट रगत संकलन

२०८३, १४ भाद्र आईतवारमा प्रकाशित

राष्ट्रिय विपत्तिका बेला हुन सक्ने सम्भावित रक्त अभावलाई मध्यनजर गर्दै कपिलवस्तुको शिवराज नगरपालिका–३, खरेन्द्रपुरमा आयोजित एकदिवसीय खुला रक्तदान कार्यक्रमबाट १४५ पोइन्ट रगत संकलन गरिएको छ ।

रोट्रयाक्ट क्लब अफ कपिलवस्तुको आयोजनामा, रोटरी क्लब अफ कपिलवस्तु र शिवराज युथ क्लबको सहआयोजनामा तथा रक्त सञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा गौतम बुद्ध पोलिक्लिनिकमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापाले रक्तदान मानव जीवन बचाउने महत्वपूर्ण सामाजिक सेवामध्ये एक भएको बताउनुभयो । राष्ट्रिय विपत्ति तथा आपत्कालीन अवस्थामा रगतको अभाव हुन नदिन रक्तदान कार्यक्रमले महत्वपूर्ण योगदान पुर्‍याउने उहाँको भनाइ थियो ।

कार्यक्रम संयोजक गोपाल बन्जाडेले सामाजिक उत्तरदायित्वअन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरिएको बताउनुभयो । रक्तदाताहरूको उत्साहजनक सहभागिताका कारण १४५ पोइन्ट रगत संकलन गर्न सफल भएको उहाँले जानकारी दिनुभयो ।

त्यस्तै, रोट्रयाक्ट क्लब अफ कपिलवस्तुका अध्यक्ष सन्तोष पौडेलले राष्ट्रिय विपत्तिका समयमा हुन सक्ने रक्त अभावलाई ध्यानमा राखेर कार्यक्रम आयोजना गरिएको बताउनुभयो । युवाहरूलाई सामाजिक तथा मानवीय सेवामा जोड्ने उद्देश्यअनुसार क्लबले नियमित रूपमा विभिन्न सामाजिक गतिविधि सञ्चालन गर्दै आएको उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि, स्थानीय व्यवसायी, सामाजिक अभियन्ता तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो ।

आयोजक संस्थाहरूले कार्यक्रम सफल बनाउन सहयोग गर्ने संघसंस्था, प्राविधिक टोली, स्वयंसेवक तथा रक्तदाताहरूप्रति आभार व्यक्त गरेका छन् । आयोजकले आगामी दिनमा पनि रक्तदानलगायत मानवीय सेवाका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu