विपत्तीको बेला सरकारको आलोचना होइन, सहयोग गरौं : युवानेता बब्बु
कपिलवस्तुको महाराजगञ्ज नगरपालिकाका युवा नेता हसमत अली (बब्बु) ले विपत्तीको समयमा सरकारको विरोधभन्दा पनि सहकार्य र सहयोग आवश्यक रहेको बताउनुभएको छ ।
भदौ १० गते आएको बाढीका कारण रसुवालगायत विभिन्न जिल्लाका नागरिक प्रभावित भएको उल्लेख गर्दै बब्बुले विपत्तिमा परेका नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकारले गरिरहेको काममा सबैले सहयोग गर्नुपर्ने बताउनुभयो ।
पछिल्लो समय सामाजिक सञ्जालमा सरकारको चर्को आलोचना भइरहेको भन्दै बब्बले विपत्तीको समयमा आरोप–प्रत्यारोपभन्दा पनि पीडित नागरिकको उद्धार र राहतलाई प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो ।
“विपत्तीको समयमा सरकारलाई काम गर्ने वातावरण बनाउनुपर्छ । सरकारका कमजोरी छन् भने त्यसको समीक्षा र आलोचना पछि पनि गर्न सकिन्छ, तर अहिले संकटमा परेका नागरिकलाई तत्काल सहयोग आवश्यक छ,” बब्बुले भन्नुभयो।
बब्बुले राजनीतिक दलहरूलाई पनि दलगत स्वार्थभन्दा माथि उठेर विपत्तिमा परेका नागरिकको सहयोगमा जुट्न आग्रह गर्नुभयो । विपत्तीको समयमा सबै राजनीतिक दल, नागरिक समाज, युवा तथा सामाजिक संघसंस्थाबीच सहकार्यको वातावरण निर्माण गर्नुपर्ने उहाँको भनाइ छ ।
बाढी तथा अन्य प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकलाई राहत तथा पुनःस्थापनाका लागि राज्यका संयन्त्रसँगै राजनीतिक दल र आम नागरिकको समेत महत्वपूर्ण भूमिका रहने बब्बुले बताउनुभयो ।
उहाँले संकटको समयमा एक–अर्कालाई दोषारोपण गर्नेभन्दा हातेमालो गर्दै पीडितको जीवन सहज बनाउन सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो ।