इस्लाम धर्मप्रति आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै कारबाही माग
कपिलवस्तु-
इस्लाम धर्म तथा मुस्लिम समुदायप्रति आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै जमात–ए–इस्लामी केन्द्र कपिलवस्तुले कारबाहीको माग गरेको छ ।
केन्द्रले जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा ज्ञापनपत्र बुझाउँदै बुद्धभूमि नगरपालिका स्थायी घर भई हाल बुटवल बस्दै आएका प्रेम योगीले फेसबुकमार्फत इस्लाम धर्म तथा मुस्लिम समुदायप्रति आपत्तिजनक, उत्तेजनात्मक र धार्मिक सद्भावमा खलल पुग्ने प्रकृतिका सामग्री सार्वजनिक गरेको आरोप लगाएको हो ।
सामाजिक सञ्जालमार्फत धार्मिक भावनामा चोट पुर्याउने तथा समुदायबीच द्वेष र वैमनस्यता उत्पन्न गर्ने सामग्री सार्वजनिक गर्नु गम्भीर विषय भएको भन्दै केन्द्रले तत्काल छानबिन गर्न माग गरेको छ ।
केन्द्रका अध्यक्ष राजन अलीले बुझाएको ज्ञापनपत्रमा सम्बन्धित फेसबुक आईडीबाट प्रकाशित सामग्रीको प्राविधिक तथा कानुनी अनुसन्धान गरी प्रमाण संकलन गर्न र कानूनविपरीत कार्य भएको पुष्टि भएमा प्रचलित कानूनअनुसार कारबाही गर्न माग गरिएको छ ।
ज्ञापनपत्रसँग सम्बन्धित फेसबुक पोस्ट तथा गतिविधिका स्क्रिनसटसमेत प्रमाणका रूपमा संलग्न गरिएको केन्द्रले जनाएको छ ।
धार्मिक सद्भाव र सामाजिक शान्ति कायम राख्न प्रशासनले विषयमा तत्काल आवश्यक छानबिन गरी दोषी देखिएमा कानुनी कारबाही गर्नुपर्ने केन्द्रको माग छ ।