चोरखोलामा ट्रक र बस दुर्घटना अपडेट : चालकको मृत्यु, ११ जना घाइते (नामावलीसहित)
कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–१ चोरखोलामा ट्रक र बस ठोक्किँदा बस चालकको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।
पूर्व–पश्चिम राजमार्गमा शुक्रबार बिहान पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना६ ख ३३३३ नम्बरको ट्रकले सोही दिशातर्फ गइरहेको लु २ ख २४७१ नम्बरको टिप्परलाई ओभरटेक गर्ने क्रममा काठमाडौंबाट बर्दियातर्फ जाँदै गरेको लु प्र०३–००१ ख ००९९ नम्बरको बससँग ठक्कर खाएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा बस चालक बाँकेको खजुरा गाउँपालिका–५ का ३४ वर्षीय सुमन खत्रीको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनापछि ट्रक चालक मोरङको कानेपोखरी गाउँपालिका–२ का २४ वर्षीय रुपेश धिमाल र टिप्पर चालक कपिलवस्तुको बुद्धभूमि नगरपालिका–९ का ३१ वर्षीय संजयकुमार चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनामा घाइते भएका ११ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घाइते हुनेमा सल्यानकी पार्वती बोहोरा, बाँके नेपालगञ्जका सुसान्त श्रेष्ठ, दाङका रिसमान थारु, बाँकेका विष्णु थारु, मुगुका अरुण बुढाथोकी, बाँकेका सागर थारु र तिलकुमारी खत्री, दाङकी सम्झना चुदारा, जाजरकोटका दिपेन्द्र गिरी, बाँकेका कृष्णबहादुर भण्डारी र कोहलपुरका गगन चुनारा रहेका प्रहरीले जनाएको छ ।
घाइतेहरुको हात, खुट्टा, टाउको, आँखामा चोट लागेको प्रहरीले जनाएको छ । उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।