बद्री पंगेनीको प्रस्तुतिसहित असोज ३१ गते भवानी भिक्षु चोकमा सांगीतिक साँझ हुदै
कपिलवस्तु –
बडादशैं, दीपावली तथा छठ पर्वको अवसर पारेर भवानी भिक्षु युवा क्लब, कपिलवस्तुले असोज ३१ गते सांगीतिक साँझ तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ ।
कपिलवस्तु नगरपालिका–स्थित भवानी भिक्षु चोकमा साँझ ६ बजेदेखि सुरु हुने कार्यक्रममा राष्ट्रिय कलाकार बद्री पंगेनीसहित BASANT & CREWS म्युजिक ब्यान्डलगायत कलाकारले सांगीतिक प्रस्तुति दिने क्लबका अध्यक्ष हसिम मुसलमानले जानकारी दिनुभएको छ ।
स्थानीय कला, संस्कृति र प्रतिभाको संरक्षण तथा प्रवर्द्धन गर्नुका साथै चाडपर्वको अवसरमा मनोरञ्जन प्रदान गर्ने, सामाजिक एकता कायम गर्ने र आपसी सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको क्लबले जनाएको छ ।
क्लबका कोषाध्यक्ष विप्लव घिमिरेका अनुसार भवानी भिक्षु युवा क्लब सांस्कृतिक कार्यक्रमसँगै सामाजिक तथा सामुदायिक गतिविधिमा पनि सक्रिय रहँदै आएको छ। गत वर्ष आयोजित कार्यक्रमबाट बचत भएको रकम सामाजिक कार्यमा खर्च गर्दै भवानी भिक्षु चोक क्षेत्रमा डस्टबिन राख्नेलगायतका काम गरिएको उहाले बताउनुभयो ।
क्लबले आगामी दिनमा पनि कला, संस्कृति र मनोरञ्जनसँगै सामाजिक सेवाका गतिविधिलाई निरन्तरता दिने जनाएको छ।