चन्द्रौटामा विश्व लगानीकर्ता सप्ताहअन्तर्गत शेयर शिक्षा कार्यक्रम सम्पन्न ।
कपिलवस्तु –
विश्व लगानीकर्ता सप्ताह २०२६ को अवसरमा भिजन सेक्युरिटिज प्रा.लि.को आयोजनामा कपिलवस्तुको चन्द्रौटामा शेयर शिक्षा तथा लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा शेयर बजार, धितोपत्रमा लगानी गर्ने प्रक्रिया, लगानीका अवसर तथा जोखिम व्यवस्थापनबारे सहभागीहरूलाई जानकारी गराइएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि शिवराज नगरपालिका–५ का वडा अध्यक्ष नेत्र बेलबासेले शेयर बजार तथा लगानीसम्बन्धी ज्ञान आम नागरिकका लागि आवश्यक रहेको बताउनुभयो। उहाँले लगानी गर्नुअघि त्यसको प्रक्रिया र सम्भावित जोखिमबारे जानकारी लिनुपर्नेमा जोड दिँदै वित्तीय साक्षरता अभिवृद्धिका लागि वडाले समेत सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो।
चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्ष ईश्वरी प्रसाद पाण्डेले लगानीसम्बन्धी सचेतनाले आर्थिक गतिविधि बढाउन सहयोग पुग्ने बताउनुभयो। उहाँले आवश्यक जानकारी हासिल गरी जोखिमको मूल्याङ्कन गरेर मात्र लगानीसम्बन्धी निर्णय लिनुपर्ने धारणा राख्नुभयो।
कार्यक्रमका अध्यक्ष तथा भिजन सेक्युरिटिज चन्द्रौटा शाखा प्रमुख कृष्ण अधिकारीले आम नागरिकलाई शेयर बजारसम्बन्धी सही जानकारी प्रदान गर्दै जिम्मेवार लगानी संस्कृतिको विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो। उहाँले लगानी गर्दा पर्याप्त अध्ययन र सावधानी अपनाउन लगानीकर्तालाई आग्रह गर्नुभयो।
कार्यक्रमले स्थानीयस्तरमा शेयर बजार तथा धितोपत्रमा लगानीसम्बन्धी ज्ञान अभिवृद्धि गर्नुका साथै नागरिकलाई सचेत र जिम्मेवार लगानीकर्ता बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ।