रमदा इन्कोर होटल र हिमालयन बैंकबीच सम्झौता, बैकका ग्राहकलाई छुट
काठमाडौं । हिमालयन बैंक लिमिटेड र रमदा इन्कोर ठमेल काठमाडौं होटलबीच हिमालयन बैंकका ग्राहकलाई होटल तथा रेस्टुरेन्टका विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको छ ।
सम्झौताअनुसार हिमालयन बैंकका ग्राहकले रमदा इन्कोरमा होटल तथा रेस्टुरेन्टका सेवा तथा सुविधामा विशेष छुट प्राप्त गर्नेछन् । साथै, होटलका विभिन्न सेवा सुविधा लिनका लागि ग्राहकलाई इएमआई सुविधासमेत उपलब्ध गराइनेछ । योजनाअन्तर्गत खाना तथा पेयपदार्थ र स्पा सेवामा १५ प्रतिशतदेखि २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
सम्झौता रमदा इन्कोर ठमेलको तर्फमा जनरल म्यानेजर महेश फुयाँल र फाइनान्स एक्जिक्युटिभ बिनेश बज्राचार्य र हिमालयन बैंक लिमिटेडका तर्फबाट कार्ड एन्ड डिजिटल च्यानल बिजनेस डेभलपमेन्ट विभागका प्रमुख शैलेन्द्रमणि श्रेष्ठ र कार्ड एन्ड डिजिटल च्यानल बिजनेस डेभलपमेन्ट विभागका रिलेसनसिप म्यानेजर महेश महर्जनले हस्तारक्षर गरे ।
सम्झौतासँगै अब रमदा इन्कोर होटलमा वार्षिक रूपमा न्यूनतम १५ हजार रुपैयाँ खर्च गर्ने ग्राहकले जन्मदिनमा निःशुल्क केक प्राप्त गर्नेछन् । पारिवारिक जमघट तथा कार्यक्रमका लागि पनि केक र कर्केज शुल्क नलाग्ने व्यवस्था गरिएको छ । त्यस्तै, रेस्टुरेन्टमा वार्षिक ५० हजार रुपैयाँ खर्च गर्ने हिमालय बैंकका ग्राहकले एक दिनको रुम निःशुल्क प्राप्त गर्ने सुविधा पाउनेछन् ।
ग्राहकलाई लक्षित गर्दै ‘फ्यामिली डे आउट प्याकेज’ र ‘फ्यामिली स्टे प्याकेज’मा समेत विशेष छुटको व्यवस्था गरिएको छ । सम्झौताले होटल र बैंकको एक–अर्कामा व्यवसाय प्रवद्र्धन तथा वृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।