Connect with us
Kapilvast Forest

तिहारको लागि सयपत्री र मखमली तयार, ६४ करोड ५० लाख कारोबार हुने

२०८३, १२ कार्तिक बुधबारमा प्रकाशित

काठमाडौं । यस वर्षको तिहारमा फूलका माला, जीवित फूलका पोली तथा गमलाको कारोबार ६४ करोड ५० लाख रुपैयाँ पुग्ने अनुमान गरिएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपालले सार्वजनिक गरेको प्रारम्भिक अनुमानअनुसार तिहारमा विभिन्न प्रजातिका फूलको माग बढेसँगै कारोबारमा वृद्धि हुने अपेक्षा गरिएको हो ।

एसोसिएसनका अनुसार यस वर्ष तिहारमा सयपत्री, मखमली, गोदावरी र विभिन्न फूल मिसाएर तयार गरिएका गरी कुल ५१ लाख ८० हजार माला खपत हुने अनुमान छ । यी मालाको कुल कारोबार मात्रै ४८ करोड रुपैयाँ पुग्ने अपेक्षा गरिएको छ । त्यस्तै, सयपत्रीका पोली र गोदावरीका गमलाको कारोबारबाट १६ करोड ५० लाख रुपैयाँको व्यापार हुने अनुमान गरिएको छ ।

यस वर्ष सबैभन्दा बढी सयपत्री मालाको कारोबार हुने देखिएको छ । अनुमानअनुसार ४५ लाख सयपत्री माला खपत हुनेछन् । प्रतिमाला औसत थोक मूल्य ९० रुपैयाँका दरले सयपत्री मालाको कारोबार ४० करोड ५० लाख रुपैयाँ पुग्नेछ ।

त्यसैगरी, ६ लाख मखमली मालाको औसत थोक मूल्य प्रतिमाला ४५ रुपैयाँका दरले यसको कारोबार २ करोड ७० लाख रुपैयाँ हुने अनुमान छ । तिहारमा प्रयोग हुने गोदावरीका २० हजार मालाको औसत थोक मूल्य प्रतिमाला १ हजार २०० रुपैयाँ कायम हुँदा २ करोड ४० लाख रुपैयाँको कारोबार हुनेछ ।

विभिन्न प्रजातिका फूल मिसाएर बनाइने ६० हजार मिक्स मालाको कारोबार पनि २ करोड ४० लाख रुपैयाँ पुग्ने अनुमान गरिएको छ । प्रतिमाला औसत थोक मूल्य ४०० रुपैयाँ निर्धारण गरिएको छ ।

तिहारमा दिदीबहिनीले दाजुभाइलाई टीका लगाउँदा फूलका माला प्रयोग गर्ने परम्पराका कारण यस अवधिमा फूलको माग उच्च हुने गर्छ । यसले पुष्प व्यवसायीको व्यापार विस्तारमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।