Connect with us
Kapilvast Forest

कपिलवस्तुमा बरघर भेला

२०८३, १५ कार्तिक शनिबारमा प्रकाशित

कपिलवस्तुको चन्द्रौटामा बालविवाह अन्त्य, बाल अधिकार संरक्षण तथा बाल सहभागिता प्रवर्द्धनसम्बन्धी बरघर अगुवाहरूको भेला सुरु भएको छ।

कार्यक्रमको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री रामजी घिमिरेले नागरिक शिक्षित र सचेत भए बालविवाह अन्त्य गर्न सकिने बताउनुभयो। उमेर नपुग्दै विवाह गर्दा विभिन्न सामाजिक, शैक्षिक तथा स्वास्थ्यसम्बन्धी समस्या निम्तिने भएकाले समुदायका अगुवाहरूले नागरिकलाई सचेत बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो।

शिवराज नगरपालिकाका उपप्रमुख शिवकुमारी थारुले पछिल्लो समय भागी विवाहका कारण बालविवाहका घटना देखिने गरेको बताउनुभयो। बालविवाह न्यूनीकरणका लागि अभिभावक, समुदायका अगुवा तथा स्थानीय तहबीच सहकार्य आवश्यक रहेको उहाँको भनाइ थियो।

त्यसैगरी थारू कल्याणकारी सभा कपिलवस्तुका अध्यक्ष पवन चौधरीलगायतले बालविवाह अन्त्य, बाल अधिकार संरक्षण तथा बालबालिकाको सहभागिता सुनिश्चित गर्न समुदायस्तरबाटै पहल गर्नुपर्ने धारणा राख्नुभएको थियो।

दुई दिनसम्म सञ्चालन हुने भेलामा ६ जिल्लाका थारू समुदायका बरघर तथा अगुवाहरूको सहभागिता रहेको छ। बालविवाह न्यूनीकरण तथा अन्त्य गर्ने, बाल अधिकारको संरक्षण गर्ने र बालबालिकाको अर्थपूर्ण सहभागिता प्रवर्द्धन गर्ने उद्देश्यले भेला आयोजना गरिएको हो।

सेभ द चिल्ड्रेन र पिस नेपाल कपिलवस्तुको साझेदारीमा आयोजित भेलामा बालविवाह अन्त्यका लागि समुदायस्तरमा बरघर अगुवाहरूको भूमिका, जिम्मेवारी तथा सहकार्यका विषयमा छलफल हुने आयोजकले जनाएको छ।

कार्यक्रममा पिस नेपाल कपिलवस्तुका मणि गैरेले भेलाको उद्देश्यबारे प्रकाश पार्नुभएको थियो भने विजय अधिकारीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj