पार्टीविरुद्ध अभिव्यक्ति दिए कारबाही गर्ने नेकपाको निर्णय
सिन्धुली, २९ मंसिर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला समिति सिन्धुलीले पार्टीविरुद्ध अभिव्यक्ति दिने नेता कार्यकर्तालाई कारबाही गर्ने निर्णय गरेको छ । शनिबार सिन्धुलीमाढीमा बसेको पार्टीको दोस्रो पूर्ण बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले आफ्ना कार्यकर्ता तथा नेतालाई पार्टीको आधिकारीक धारणाभन्दा बाहिर रहेर पार्टी र सरकारविरुद्ध सामाजिक सञ्जाल, सार्वजनिक स्थल वा अन्य कुनै स्थानमा कुनै पनि अभिव्यक्ति नदिन निर्देशनात्मक निर्णय गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए । पार्टीको आधिकारीक धारणा बाहिर अभिव्यक्ति दिएमा कारबाही गर्ने निर्णय गरिएको ती नेताले जानकारी दिए
पछिल्लो समय पार्टीका जिम्मेवार नेता तथा कार्यकर्ताहरुबाटै पार्टी र सरकारको विरुद्धमा सामाजिक सञ्जाल, सार्वजनिक स्थलमा अभिव्यक्तिहरु बढ्न थालेपछि त्यस्तो निर्णय गरिएको उनले स्पष्ट पारे ।
बैठकले वैचारिक राजनीतिक काम, संगठनात्मक काम, जनपरिचालन, विकाससँग सम्बन्धित काम गर्ने निर्णय गरेको छ । नेकपाले निर्वाचित जनप्रतिनिधि र नेता कार्यकर्तालाई पार्टी प्रशिक्षण दिने र पार्टीको नीति सिद्धान्त र चुनावी घोषणापत्रका आधारमा काम गर्न सहजीकरण गर्ने निर्णय समेत गरेको छ ।
बैठकमा पार्टी एकीकरणपछि जिम्मेवारीविहिन बनेका नेकपाका नेताहरुले अब जिम्मेवारी पाएका छन् । संघीय निर्वाचन समिति, प्रदेश निर्वाचन समितिका संयोजक र सचिव तोकिएको छ भने ९ स्थानीय तह स्तरमा पालिका इन्चार्ज सहइन्चार्ज तोकिएको छ ।