Connect with us
Kapilvast Forest

तोकिएभन्दा अगाडि सक्नेगरी सेतीखोला जलविद्युत् आयोजनाको निर्माण सम्झौता

२०७६, ७ पुष सोमबारमा प्रकाशित

 

७ पुष ,काठमाडौं । एक हजार बढी लगानीकर्ताको सामूहिक लगानीमा निर्माण हुन लागेको २५ मेगावाट क्षमताको सेती खोला जलविद्युत् आयोजनाको सिभिल निर्माणतर्फको ठेक्का सम्झौता भएको छ ।भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेड र निर्माण कम्पनी रसुवा–लुना जेभीबीच आइतबार काठमाडौमा ठेक्का सम्झौतामा हस्ताक्षर भएको हो । भिजन लुम्बिनीका तर्फबाट कार्यकारी अध्यक्ष जगतबहादुर पोखरेल र निर्माण कम्पनीका तर्फबाट कार्यकारी निर्देशक माधव आचार्यले हस्तक्षर गर्नु भएको छ ।

सम्झौतामा हस्ताक्षर कार्यक्रममा दिइएको जानकारीअनुसार रसुवा–लुना जेभीले सिभिल निर्माणतर्फको ठेक्का रु एक अर्ब २० करोडमा लिएको छ । निर्माण व्यवसायीले दुई वर्षभित्र आयोजनाको सिभिल संरचना निर्माण गरिसक्ने प्रतिबद्धता जनाएको छ । प्रवद्र्धक भिजन लुम्बिनीले २७ महिनाको समय सीमा दिएको भए पनि दुई बर्षभित्रै निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ ।

करीब रु पाँच अर्ब लागतको सो आयोजनामा धेरैभन्दा धेरैको सहभागिता गराउने लक्ष्य राखिएको छ। नेपाल विद्युत् प्राधिकरण र प्रवद्र्धक कम्पनीबीच २०७५ मङ्सिर ६ गते विद्युत् खरीदसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो।

सम्झौताअनुसार उक्त आयोजनाबाट उत्पादित विद्युत् वर्षायाममा प्रतियुनिट चार रुपैयाँ ८० पैसा र हिउँदमा प्रतियुनिट आठ रुपैयाँ ४० पैसामा प्राधिकरणले खरीद गर्नेछ।

कास्कीको माछापुच्छ्रे गाउँपालिकाको भराभुरीमा आयोजना निर्माण हुनेछ । आयोजनामा स्थानीयवासीलाई समेत शेयर दिइने प्रवद्र्धक कम्पनीले जनाएको छ।बुटवललाई केन्द्र बनाएर आर्थिक तथा सामाजिक क्रियाकलापमा संलग्न लुम्बिनी भिजनले सो आयोजनाका लागि भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेड स्थापना गरेको छ।

प्रवद्र्धक संस्थाका अध्यक्ष पोखरेलले एकाध व्यक्तिले मात्रै जलविद्युत् आयोजनाको मुनाफा पाउने अवस्थाको अन्त्यका लागि आफूहरुले बढीभन्दा बढी नागरिकलाई लगानीकर्ताको रुपमा सहभागी गराएको जानकारी दिनुभयो ।

उहाँका अनुसार आयोजनाको ३० प्रतिशत स्वपूँजी रहने र ७० प्रतिशत बैंक तथा वित्तीय संस्थाका तर्फबाट ऋण लिइनेछ। स्वपूँजीमा बुटवल र कास्कीका लगानीकर्तालाई समेत सहभागी गराइनेछ।

आयोजनाबाट उत्पादित विद्युत् कूल छ किलोमिटर लामो प्रसारण लाइनमार्फत कास्कीको लाहाचोकमा रहेको प्राधिकरणको सवस्टेशनमा जोडिनेछ। अध्यक्ष पोखरेलले आयोजना तोकिएको समयभन्दा अगाडि नै सम्पन्न गरेर उदाहरणीय बन्ने अठोट व्यक्त गर्नुभयो ।

उहाँले आयोजनामा धेरैभन्दा धेरै लगानीकर्ताको सहभागिताका कारण धेरैको चासो रहेकाले समयभन्दा अगावै सम्पन्न गरिसक्नुपर्ने अवस्थामा रहेको बताउनु भयो ।

यस्तै रसुवा–लुना जेभीका कार्यकारी निर्देशक आचार्यले तोकिएको समयमा आयोजना सम्पन्न गर्ने प्रतिबद्धता जनाउदै अनुकरणीय आयोजना बनाउने अभिलाषा आफुहरुमा पनि रहेको बताउनुभयो ।

आयोजनाको इञ्जिनीयरिङको काम हाइड्रो कन्सल्टले गरिरहेको छ। सो कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोहरलाल श्रेष्ठले प्राविधिक तयारीमा कुनै कन्जुस्याइँ नगरिएको जानकारी दिँदै आयोजना आकर्षक रहेको विवरण प्रस्तुत गर्नुभयो ।

आयोजनाका प्रवद्र्धक समेत रहेका स्थानीयवासी बमबहादुर गुरुङले स्थानीयवासीलाई विश्वासमा लिएर काम गराउन आफू प्रतिबद्ध रहेको र स्थानीयबाट पुरै सहयोग हुने दावी गर्नुभयो । भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडका सल्लाहकार गणेशकुमार श्रेष्ठले नदी प्रवाही आयोजना भए पनि आकर्षक र ऊर्जा उत्पादनका हिसाबले पनि महत्वपूर्ण रहेको जानकारी दिनुभयो ।

निकट भविश्यमा नै हाइड्रो मेकानिकल र इलेक्ट्रो मेकानिकल तर्फको निर्माण व्यवसायी समेत छनोट गरिने आयोजनाले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu