सरकारले गुमायो दुई तिहाइ, अब बहुमत मात्र
काठमाडौं- नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार अब बहुमतमा मात्र सिमित भएको छ।सत्ता साझेदार दल समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि महुमतमा मात्र सीमित भएको हो। यसअघि सरकार दुई तिहाइ बहुमतको रहेको थियो।
राष्ट्रिय जनता पार्टीले केही समय पहिले सरकारलाई दिएको सर्मथन फिर्ता लिएको थियो भने समाजवादी पार्टीले बुधबार मात्र सरकारलाई दिएको सर्मथन फिर्ता लिने निर्णय गरेको छ।
मंगलबार पार्टीका दुई मन्त्रीको राजीनामापछि समाजवादीले सरकारलाई दिएको सर्मथन फिर्ता लिएको हो।
समाजवादी पार्टीको बालकुमारीस्थित केन्द्रीय कार्यालयमा बुधबार बिहान बसेको पदाधिकारी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो।
सरकारलाई दिएको सर्मथन फिर्ता लिएको निर्णय उसले पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ।
समाजवादीको यो निर्णयसँगै ओली नेतृत्वको सरकारले दुईतिहाइ बहुमत गुमाएको हो।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा उपप्रधान तथा कानुनमन्त्री उपेन्द्र यादवले पेश गरेको संविधान संशोधनको प्रस्ताव प्रधानमन्त्री ओलीले अस्वीकार गरेका थिए।
त्यसलगत्तै मंगलबार उपप्रम उपेन्द्र यादव र सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले पदबाट राजीनामा दिएका थिए।
पार्टीको आगामी रणनीतिबारेमा समाजवादीले सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बसेर भावी कार्यदिशा पनि तय गरेको बताएको छ।हाल नेकपाको १७४, राजपा १७, समाजवादी १८, काँगेस ६३ सांसद छन्।नेकपा र समाजवादी हुदाँ सरकारमा १९२ कायम रहेको थियो।राजपाले सर्मथन गरिरहेको अवस्थामा सरकारसँग २०९ सांसद रहेका थिए।