बाबाजीको अदालतले आजदेखि बयान लिने
११ पुस, सुनसरी । बलात्कारको आरोप लागेका सिद्धबाबा भनिने कृष्णदास गिरीविरुद्धको मुद्दा विहीबार सुनसरी जिल्ला अदालतमा पेस भएको छ । बाबाजीको वयान शुक्रबारबाट सुरु हुँदैछ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी विनोद शर्माका अनुसार शुक्रबारबाट गिरीको मुद्दामा थुनछेक बहस सुरु हुनेछ ।
मंसिर १६ गते पक्राउ परेका गिरीविरुद्ध २५ दिनको अनुसन्धानपछि प्रहरीले बिहीबार जिल्ला अदालतमा अभियोगपत्र दर्ता गराएको हो ।
गत कात्तिक ४ मा बाबाजीले आफूमाथि बलात्कार गरेको भन्दै उनकै अनुयायी एक महिलाले कृष्णदासविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएपछि सुनसरी प्रहरीले गिरीलाई पक्राउ गरेको हो । यद्यपि उनलाई हिरासतमा नराखी अस्पतालको सुविधासम्पन्न क्याबिनमा राखिँदै आएको छ ।
बलात्कारको आरोपपछि बिराटनगरको मुनालपथस्थित बिराट नर्सिङ होममा भर्ना भएका कृष्णदासलाई १६ मंसिरमा पक्राउ गरी ४ दिनको म्याद थपिएको थियो । २० मंसिरमा दोस्रो पटक ५ दिनको, २७ मंसिर तेस्रो पटक ७ दिनको, ३० मंसिरमा चौथो पटक ७ दिनको र ७ पुसमा पाँचाैं पटक ३ दिनका लागि हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप गरिएको थियो ।
नर्सिङहोमको आइसीयुमा बसेका गिरी भीआइपी बलात्कारआरोपी हुन् । उनको निजी सुरक्षाका लागि सरकारले प्रहरी हवल्दार नै खटाउँदै आएको छ ।