Connect with us
Kapilvast Forest

काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीलाई सेतो र रातो नम्बर प्लेटका गाडी

२०७७, १९ फाल्गुन बुधबारमा प्रकाशित

काठमाडौं – काठमाडौं महानगरपालिकाले सरकारी गाडीमा रातो नम्बर प्लेट राखेर दुरुपयोग गरेको भेटिएको छ । महानगर प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीलगायतले घरायसी प्रयोजनका लागि सरकारी गाडीको प्रयोग गरिरहेका छन् ।

कोरोना महामारीको बीचमा आवश्यक नै नभए पनि पाँच महिनाअघि महानगरपालिकाले ६० लाख रुपैयाँमा नयाँ गाडी किनेको थियो । जसमा रातो नम्बर प्लेट छ । प्रदेश ३–०१–०२३ च ३७२३ नम्बरको सो गाडी प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीलगायतले व्यक्तिगत प्रयोजनका लागि प्रयोग गरिरहेका छन् ।

चार वर्षअघिदेखि काठमाडौं महानगरका प्रशासकीय अधिकृतले बा.२झ १५६४ नम्बरको सेतो प्लेटको गाडी चढ्ने गरेका छन् । ‘अहिलेसम्म कोही पनि प्रमुख प्रशासकीय अधिकृतले दुईवटा गाडी प्रयोग गरेका थिएनन् । तर, उहाँले बिदाको दिन प्रयोग गर्ने गर्नुभएको छ । दसैँको वेला पनि उहाँ त्यही गाडी लिएर घर जानुभएको थियो,’ महानगरका एक कर्मचारीले भने । कोरोना महामारी सुरु भएपछि गाडी खरिद नगर्ने निर्णय सरकारले गरे पनि त्यसविपरीत महानगरपालिकाले खरिद गरेको थियो ।

महानगरका एक कर्मचारीका अनुसार प्रजातन्त्र दिवसका दिन पनि ज्ञवाली उक्त रातो प्लेट गाडीमै राष्ट्रिय सभागृह पुगेका थिए । जहाँ पार्क गरेर उनी र मेयर विद्यासुन्दर शाक्य काभ्रेको एक कार्यक्रममा पुगेका थिए । निजी प्रयोजनका लागि प्रयोग गरिने गाडीमा लाग्ने इन्धन पनि महानगरले नै व्यहोर्दै आएको छ । नियमानुसार महानगरका सहसचिवस्तरका कर्मचारीलाई (कार्यकारी प्रमुख) ८० लिटर इन्धन दिने गरिएको छ । तर, त्यसबाहेक विभिन्न आयोग र महानगरअन्तर्गतकै विभिन्न आयोजनाले पनि तेल दिने गरेका छन् ।

घरायसी प्रयोजनकै लागि गाडीमा रातो नम्बर प्लेट

प्रमुख प्रशासकीय अधिकृत नहुँदै ज्ञवालीले केही महिनाअघि महानगर प्रमुख शाक्यलाई अनुरोध गरी ६० लाख रुपैयाँमा गाडी खरिद गर्न लगाएको स्रोतले बतायो । रातो नम्बर प्लेटको गाडी ज्ञवालीको घरमै राखिने गरिएको छ भने बिदाको दिन र अन्य व्यक्तिगत प्रयोजनका निम्ति प्रयोग गर्दै आएको कर्मचारीहरू बताउँछन् । कहिलेकाहीँ अन्य कर्मचारीले पनि सो गाडी व्यक्तिगत काममा प्रयोग गर्दै आएका छन् । घरायसी प्रयोजनकै लागि गाडीमा रातो नम्बर प्लेट राखिएको स्रोत बताउँछ ।

प्रमुख प्रशासकीय अधिकृत ज्ञवाली भने आफूले प्रमुख प्रशासकीयको पद नसम्हाल्दासम्म मात्र उक्त गाडी प्रयोग गरेको बताउँछन् । ‘पहिलेका कार्यकारीले चढ्नुभएको गाडी हुँदाहुँदै मलाई अर्को गाडीको आवश्यकता नै छैन । मैले सेतो नम्बर प्लेटको मात्र प्रयोग गरेको हो,’ उनले भने, ‘कात्तिकसम्म मात्र मैले रातो नम्बर प्लेटको प्रयोग गरेँ । त्यो गाडी न त मैले प्रयोग गरेको छु, न त कतै लगेर पार्क नै गरेको छु । अहिले महालेखापरीक्षकको अडिटरले प्रयोग गर्दैै हुनुहुन्छ ।’ बिदाको दिन आवश्यक परे सेतो नम्बर प्लेटको गाडीलाई नै पास लिएर आफूले प्रयोग गर्ने गरेको उनले बताए ।नयाँ पत्रिका

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu