कपिलवस्तु नगरपालिकामा सुरु भयो तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता
कपिलवस्तु -कपिलवस्तु नगरपालिकाले तेस्रो नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु गरेको छ । कपिलवस्तु नगरपालिकाको बुद्धपद्धमा स्कुलको मैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन भारतका लागि पूर्वराजदूत दिपकुमार उपाध्यायले गर्नु भएको हो । प्रतियोगितामा कपिलवस्तु नगरपालिकाअन्तर्गतका विभिन्न विद्यालयका खेलाडीहरुको सहभागिता रहेको छ ।
प्रतियोगिताको उद्घाटन गर्दै पूर्वराजदुत उपाध्यायले यस प्रतियोगिताले लुकेर रहेका प्रतिभालाई बाहिर ल्याउन मद्दत गर्ने भन्दै त्यस्ता प्रतिभालाई चिनेर उनीहरुलाई निरन्तर अभ्यास गराउनुपर्ने बताउनु भयो । हरेक ब्यक्तिमा कुनै न कुनै प्रतिभा लुकेको हुने भन्दै त्यसलाई चिनेर अगाडि बढे विश्वमा ठुलो मान्यता हुने बताउनु भयो । खेल भनेको हारजितभन्दा पनि निरन्तर अभ्यास गर्दै जाने भएको भन्दै खेलकै माध्यमबाट ब्यक्ति विद्यालय समाज हुदै राष्ट्रको नाम चिनाउन सक्नुपर्ने बताउनु भयो ।
खेलमा लागेका ब्यक्ति गलत हुन नसक्ने भन्दै उनीहरु लागुऔषध दुब्र्यसनमा पनि नफस्ने उहाँले दाबि गर्नु भयो । उहाँले आफ्नो रुचिअनुसारको खेलमा निरन्तर अभ्यास गर्न सम्पूर्ण खेलाडीलाई आग्रह गर्नु भयो । यस्तै कार्यक्रमका अधयक्ष तथा कपिलवस्तु नगरपालिकाका मेयर किरण सिंहले यस्ता प्रतियोगिताले खेलाडीको अन्तरनिहित क्षमता प्रष्फुटन हुने विश्वास ब्यक्त गर्नु भयो । कार्यक्रम मेयर किरण सिंहको अध्यक्षता, राजदूत उपाध्यायको प्रमुख आतिथ्य, उपमेयर लक्ष्मी गुप्ता सावको स्वागत मन्तव्य तथा नगरपालिकाका सामाजिक बिकास शाखा अधिकृत पदम श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको हो ।