Connect with us
Kapilvast Forest

छोरीको सम्मानमा ‘बालिका बचत’ कार्यक्रम सुरु

२०७७, २६ फाल्गुन बुधबारमा प्रकाशित

प्रतिनिधिमुलक तस्विर

खोटाङ – खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले छोरीको सम्मानमा ‘बालिका बचत’ कार्यक्रम सुरु गरेको छ । छोरीलाई भन्दा छोरालाई प्राथमिकता दिने सामाजिक विभेद अन्त्यको प्रयास स्वरुप नगरपालिकाले १११ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर ‘बालिका बचत’ कार्यक्रम सुरु गरेको हो ।

दिवसको अवसरमा हलेसीमा आयोजित कार्यक्रममा पूर्व जलस्रोत राज्यमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाले मंगलटारकी लिलाकुमारी दमाईकी छोरी सुनिला परियारलाई ‘बालिका बचत’ कार्यक्रम अन्तर्गतको चेक हस्तान्तरण गर्दै कार्यक्रम शुभारम्भ गर्नु भएको हो । बालिकामैत्री नगरपालिका बन्ने लक्ष्यकासाथ आर्थिक वर्ष २०७७/०७८ को वार्षिक नीति तथा कार्यक्रमबाटै बजेट व्यवस्था गरेर ‘बालिका बचत’ सुरु गरिएको उपमेयर बिमला राईले बताउनुभयो ।

‘बालिका बचत’ कार्यक्रम अन्तर्गत नगरपालिकाले गएको साउन १ गतेदेखि यता जन्मिएका हरेक छोरीको नाममा खाता खोल्ने र ३ वर्षको उमेर पुग्दासम्म वार्षिक ४ हजारका दरले खातामा रकम जम्मा गरेर सहयोग उपलब्ध गराउने व्यवस्था गरिएको छ । कार्यक्रमका लागि नगरपालिका र सालपा विकास बैंकको हलेसी शाखाबीचमा वार्षिक ९ प्रतिशतले ब्याज उपलब्ध गराउनेगरी हकवाला आमालाई राखेर बालिकाको नाममा १५ वर्षे मुद्धति खाता खोल्ने सम्झौता गरिएको नगरपालिकाले जनाएको छ ।

बैंक खातामा नाममा जम्मा भएको रकम बालिका १५ वर्षपछि मात्र निकाल्न पाउने व्यवस्था मिलाइएको छ । बचत गर्ने बानीको विकासका लागि नगरपालिकाले जम्मा गरिदिएको खातामा स्वयं बालिकाको परिवारले समेत रकम बचत गर्न सक्ने छन् ।

‘बालिका बचत’ कार्यक्रम अन्तर्गतको सहयोग पाउनका लागि गर्भावस्थामा आमाले चार पटक अनिवार्य गर्भजाँच गरेको, स्वास्थ्य संस्थामै गएर सुत्केरी गराएको वा स्थानीय स्वास्थ्य संस्थामा सुत्केरी हुन नसकेको अवस्थामा अन्यत्र रेफर भएर छोरीलाई जन्म दिएको हुनुपर्ने छ । लामो समयसम्म नगर बाहिर बसिरहेको अवस्थामा गाउँमा आएर गाउँकै स्वास्थ्य संस्थामा सुत्केरी गराएकाको हकमा भने यो कार्यक्रम लागू नहुने उपमेयर राईले बताउनुभयो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu