पेट्रोलियम पदार्थ अपचलन गरेको आरोपमा दुईजना पक्राउ
काठमाडौं- पेट्रोलियम पदार्थ अपचलन गरी राजस्व चुहावट गरेको आरोपमा प्रहरीले विराटनगरबाट दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहारको अररिया जिल्लाको मिरगञ्जका २६ वर्षीय मोहम्मद सजाद र २१ वर्षीय इमरोज आलम रहेका छन् ।
उनीहरुले गत शनिबार विराटनगरस्थित नेपाल आयल निगमको १ नम्बर प्रदेश कार्यालयमा को १ ख ५९१२ नम्बरको ट्यांकरमा निगमको विनियम तथा कानुन विपरित पेट्रोलियम पदार्थ अपचलन गरी राजस्व चुहावट गरेको पाइएको प्रहरीले जनाएको छ ।
सजाद र आलमलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले आइतबार नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक मानबहादुर राईले बताउनु भयो ।
उनीहरुलाई आवश्यक कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइने प्रहरीले जनाएको छ ।