खर्च अभावमा शिशुको मृत्यु
विराटनगर- बुवाआमाले छाडेर हिँडेका एक शिशुको आइतबार राति नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको छ। ती शिशुलाई एनआईसीयूमा भर्ना गरेपछि बुवाआमा चार दिनअघि सम्पर्कविहीन भएका थिए। उपचार खर्च तिर्न सक्ने अवस्था नभएको भन्दै उनीहरू भागेको पाइएको प्रहरीले जनाएको छ।
शव व्यवस्थापन गर्न समस्या भएपछि प्रहरीले शिशुका बुवा मोरङको जहदागाउँपालिका–७ सिर्सियाका २४ वर्षीय राजा मरण्डीलाई नियन्त्रणमा लिएको छ। मरण्डीलाई पक्राउ गरी घटनाको अनुसन्धान थालिएको मोरङ प्रहरी प्रवक्ता मानबहादुर राईले बताउनु भयो ।
प्रसूति व्यथाले च्यापेपछि अस्पताल ल्याउँदै गर्दा मरण्डीकी श्रीमती पार्वती मुर्मुले फागुन २५ गते बाटोमै छोरा जन्माएकी थिइन्। स्वास्थ्य समस्या रहेको थाहा पाएपछि राजा र पार्वतीले छोरालाई विराटनगरको सञ्जीवनी अस्पताल पुर्याएका थिए। उक्त अस्पतालले स्वास्थ्य अवस्था गम्भीर रहेकाले तत्काल एनआईसीयूमा भर्ना गर्न भनेपछि उनीहरूले नोबेल अस्पताल पुर्याएका थिए।
मरण्डीले साथमा रहेको १६ हजार रुपैयाँ भोलिपल्टै सकिएपछि शिशुलाई अस्पतालमै छाडेर भाग्नुपरेको बयान प्रहरीसमक्ष दिएका छन्। मजदुरी गरेर परिवार चलाउनुपर्ने भएकाले पैसा जुटाउन नसकेको उनले प्रहरीलाई अवगत गराएका छन्। सुकुम्बासी अवस्थाका मरण्डीका नाममा जग्गाजमिन छैन। उनको परिवार ऐलानीमा बनेको झुप्रो घरमा बसोबास गर्दै आएको छ।
फार्मेसीमा औषधि किन्दा र प्रयोगशालामा विभिन्न परीक्षण गर्दा साथमा भएको पैसा सकिएको उनले सुनाए। सुत्केरी श्रीमतीको स्वास्थ्य पनि राम्रो नभएको उनको गुनासो छ। पार्वतीको स्वास्थ्य बिमा गरिए पनि यसबारे सुविधा थाहा नपाउँदा शिशु छोडेर हिँडेको पाइएको नोबेलका प्रशासकीय अधिकृत दीपेश राईले बताउनु भयो ।
मरण्डीले भने बिमामा उल्लेख भएको औषधि नपाइने भन्दै अस्पतालभित्रको फार्मेसीले बाहिर किन्न पठाउने गरेकाले खर्च सकिएको दुःखेसो सुनाए। उनकी श्रीमती भने घरमै छिन्।