Connect with us
Kapilvast Forest

किन सम्झने गिरिजाप्रसादलाई ?

२०७७, ७ चैत्र शनिबारमा प्रकाशित

 

काठमाडौं-मानव अस्तित्व विना समाज र शान्ति विना समृद्धिको कल्पना गर्नु मिथ्या हुन्छ । लेखकले उठान विषयवस्तुलाई पुष्टि गर्न कहिले महाभारत कथालाई आधार बनाएका त कहिले वेद–पुराणको सहारा लिएका हुन्छन् । तर आज मैले आफ्नो लेखलाई वास्तविक धरातलमा केन्द्रित रहेर विध्वंसको पीडाले आहत नेपाली जनताले शान्तिको सास फेर्ने परिस्थिति कसरी पैदा भएको थियो भन्ने तथ्यलाई उजागर गर्ने प्रयत्न गरेको छु ।

२०५२ सालदेखि माओवादीको सशस्त्र द्वन्द्वले आक्रान्त मुलुकमा ‘सेना र माओवादीको भिडन्तमा यति मानिस मरे, माओवादीले कांग्रेस नेताको घाँटी रेटेर हत्या गरे । सेनाको प्रतिवादमा यति माओवादी मरे’ भन्ने जस्ता दैनिक प्रसारण हुने समाचारले नेपाली जनताको मनोविज्ञानमा गहिरो चोट पुगेको थियो ।

 

चन्दा आतंकले गाउँबाट विस्थापित भएर शहर पलायन हुने अधिकतर जनताका पीडादायी कथा हुन् वा माओवादी र सेनाको चपेटामा परेर विस्थापित विभिन्न राजनीतिक दलका अगुवा कार्यकर्ताहरूले काठमाडौंलगायत विभिन्न शहरका चिया–चौतारीमा बसेर आफ्ना पीडा र वेदना साटासाट गरिरहेका दृश्यहरू; हामीले अझै बिर्सेका छैनौं ।

अपहरण, हत्या, बलात्कार जस्ता जघन्य अपराधका घटनाबाट मुलुक अहिले पनि मुक्त हुन त सकेको छैन तर त्यतिबेला डर त्रासकै कारण आफ्नो गाउँघरबाट विस्थापित भएका जनता अहिले पुनः आफ्नो गाउँ फर्किएर कमसेकम शान्तिको सास फेर्न पाएका छन् । तथापि, बढ्दो शहरीकरणका कारण अहिले ग्रामीण भेगका बस्तीहरू पातलिएका छन् ।

तत्कालीन समयमा द्वन्द्वबाट आक्रान्त जनताको पीडालाई अन्तर्राष्ट्रियकरण गर्दै नेपालमा शान्ति स्थापना गर्न दबाब पैदा गर्ने उद्देश्य अनुरूप विभिन्न जिल्ला भ्रमण गर्ने क्रममा गुल्मीको बलेटक्सारमा सेनाको आक्रमणबाट २०६१ सालमा मुस्किलले मेरो ज्यान जोगिएको थियो ।

उक्त घटनाको विवरण २०६१ साल पुष-माघ महिनातिर प्रकाशित समय साप्ताहिकको अंकमा उल्लिखित छ । आफ्नो जन्म गाउँ गुल्मीको नयाँगाउँ, अरौदीमा जाने क्रममा अर्घाखाँचीको खनदहमा माओवादीको कब्जामा परी मुक्त भएर कपिलवस्तु जिल्लामा पुनः माओवादीको कब्जामा परेको थिएँ ।

माओवादीले हत्या गरेका कांग्रेस नेताहरू अर्घाखाँचीमा शिवलाल पोख्रेल, राममणि ज्ञवाली, कपिलवस्तुमा आदित्य ज्ञवाली, बालकृष्ण घिमिरे र दैलेखमा पत्रकार डेकेन्द्र थापाको जस्तै नियति मेरो पनि हुन्थ्यो होला– माओवादी निकट विद्यार्थी संगठनकी नेतृ जनी बञ्जाडेले उदारता नदेखाएको भए । उक्त घटनाका साक्षी तत्कालीन वन अधिकृत इमनाथ पौडेल पनि हुनुहुन्छ । मलाई सुरक्षित तरिकाले बुटवलसम्म पु¥याउन उहाँले गर्नुभएको सहयोग अविस्मरणीय छ ।

यस्ता घटनाहरू मुलुकभरि नै दैनिकजसो घटेका तथ्य त्यतिबेलाका पत्रपत्रिकाहरू पल्टाउँदा पाउन सकिन्छ । सेना र माओवादीको ज्यादती र आक्रमणबाट कैयौं निर्दोष जनता मारिए, कोही अझै घाइते अवस्थामा छन् । सेना, प्रहरी वा माओवादी लडाकु जो मारिए पनि निर्दाेष नेपाली नागरिक नै मारिएका थिए ।

यसरी द्वन्द्वबाट आक्रान्त मुलुकमा माओवादी र सरकारबीच भएको १२ बुँदे सम्झौताले शान्ति स्थापना गरेको इतिहास जगजाहेर छ । हरेक मानिसमा केही न केही कमि–कमजोरी त अवश्य हुन्छन् नै तर तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको सुझबुझपूर्ण निर्णयले मुलुकमा शान्ति स्थापना भएको कुरालाई सबैले स्वीकार गर्नैपर्छ । गिरिजाप्रसाद कोइरालाले पु¥याएको योगदान इतिहासमा दर्ज भइसकेको छ । त्यसकारण उहाँलाई सम्झनुपर्छ ।

को हुन् गिरिजाप्रसाद कोइराला ?

युगपुरुष र दार्शनिकहरूको जन्म र मृत्युको समयलाई विभिन्न तरिकाले स्मरण गर्ने गरेको पाइन्छ । सर्वसाधारण नागरिकको हकमा मृत्युपर्यन्त जन्मदिनलाई खासै स्मरण गरेको पाइँदैन तर मृत्यु भएको तिथिलाई श्राद्ध वा आ–आफ्नै रीतिरिवाज अनुसार स्मरण गरिंदै आएको पाइन्छ । युगपुरुषहरूको भने जन्म र मृत्यु दुवै मितिमा स्मृतिको गाथा गाउने गरिन्छ ।

साधारण व्यक्ति होस् वा कुनै युगपुरुष; जीवित रहुन्जेल उनीहरूका राम्रा गुणलाई उजागर गर्दा चाकडीको आरोप खेप्ने डरले हो वा आग्रह÷पूर्वाग्रहले हो आलोचनाका शब्दहरू शब्दकोशबाटै रित्तिने गरी सत्तोसराप गर्ने तर मृत्युपर्यन्त गुणगान र प्रशंसाका लागि शब्दकोशका शब्दहरू नै पर्याप्त नहुने नियतिबाट हाम्रो समाज अलग छैन ।

गिरिजाप्रसाद कोइराला पनि त्यस्तो व्यक्तित्व हुन् जसले आफ्नो जीवनकालभरि कालो झण्डा र विरोधको सामना गर्नु परिरह्यो तर मृत्युपर्यन्त उनले जति प्रशंसा र सम्मान प्राप्त गर्ने अवसर शायदै अरु व्यक्तिलाई प्राप्त भयो होला । माओवादी द्वन्द्वले आक्रान्त मुलुकमा माओवादीलाई राजनीतिको मूलधारमा प्रवेश गराई मुलुकमा शान्ति स्थापना गरेकै कारण कोइराला एशियाकै एक कुशल राजनेताको रूपमा स्थापित भए ।

सहमति, सहकार्य र एकताका हिमायती, निडर, निर्भीक तथा साहसिक पुरुष गिरिजाप्रसाद कोइरालाको नामलाई लोकतन्त्रकै पर्यायवाचीको रूपमा व्याख्या गर्दा अत्युक्ति नहोला जस्तो लाग्छ । आफूले हारे पनि मुलुकले जित्नुपर्छ भन्ने दर्शनबाट प्रेरित कोइरालाले आफ्नो विरोध गर्ने र कालो झण्डा देखाउने प्रवृत्तिलाई आफैंले लडेर प्राप्त गरेको प्रजातन्त्रको उपलब्धिको रूपमा लिएको कुरा ‘आफ्नै कुरा’ पुस्तकमा उल्लिखित छ ।

गिरिजाप्रसाद कोइराला फाउन्डेसनले उनको स्मृतिमा २०७७ चैत ५ गते बुटवलमा आयोजना गरेको कार्यक्रममा मैले प्रस्तुत गरेको स्मृतिपत्रमा यो लेख आधारित छ । लोकतन्त्र माथि चौतर्फी प्रहार भइरहेको यो समयमा तत्कालीन राजा ज्ञानेन्द्रले ‘कु’ गर्दा प्रजातन्त्र पुनःस्थापनका लागि गरिएको संघर्षमा स्वयं म आफैं संलग्न एउटा घटनाक्रमलाई जोडेर एउटा आलेख प्रस्तुत गर्दै गिरिजाप्रसादको स्मरण गर्ने जमर्को गरेको छु ।

उपत्यकालगायत मोफसलका विभिन्न एफएम रेडियोमार्फत त्यतिबेला प्रसारण हुने ‘समय चक्र’ रेडियो कार्यक्रमका लागि एमालेका नेता केपी ओलीसँग मैले लिएको अन्तर्वार्ता बज्ने दिन राजा ज्ञानेन्द्रले ‘कु’ गरेपछि सबै सञ्चार गृहहरूलाई सरकारले नियन्त्रण गरेकै कारण बज्न पाएन । मोफसलमा पठाउनको लागि रेकर्ड गरिएको अन्तर्वार्ताको सीडी लिएर काठमाडौं एअरपोर्ट जान हिंडेको म ज्ञानेन्द्रले ‘कु’ गरे भन्ने सूचना पाएसँगै यो अन्तर्वार्ता रेडियोबाट प्रसारण हुँदैन भन्ने निश्चित भएपछि अब मुलुकको राजनीति के हुन्छ त ? भनेर प्रतिक्रिया लिन तत्काल नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालालाई भेट्न कोइराला निवास महाराजगञ्ज पुग्दा वरिपरि सशस्त्र प्रहरीहरू तैनाथ थिए ।

२०६१ माघ १९ गते पूर्व राजा ज्ञानेन्द्रले मुलुकको शासन व्यवस्था माथि ‘कु’ गरेसँगै नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालालाई नजरबन्दमा राखिएको थियो । परिवारका सदस्य बाहेक बाहिरी मानिस प्रवेशमा रोक लगाइएको थियो । त्यहाँ प्रवेश नपाएपछि कोइराला पुत्री तथा नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाको निवास मण्डिखाटार पुगेको थिएँ । त्यहाँ सुजाता कोइराला, पूर्व राजदूत सुरेश चालिसे र म बसेर विचार विमर्श ग¥यौं ।

नेपाली कांग्रेसले ११औं महाधिवेशनको तयारी गरिरहेको बेला पार्टी सभापतिलाई नजरबन्द गरेपछि देशव्यापी रूपमा नेता, कार्यकर्तालगायत आम जनता ज्ञानेन्द्रको कदमप्रति अन्योलग्रस्त रहेको ठहर गरियो । राजाको कदमको विरुद्धमा आन्दोलन चर्काउन अभिप्रेरित गर्दै सन्देश प्रेषित गर्नु त्यतिबेलाको आवश्यकता हो भन्ने निष्कर्ष हाम्रो रह्यो ।

पार्टी सभापति गिरिजाप्रसाद कोइरालाको तर्फबाट प्रेस विज्ञप्ति जारी गर्ने निधो गरियो । प्रेस विज्ञप्ति ड्राफ्ट गरी नेतृ सुजाता कोइरालासँग भएको गिरिजाप्रसादको हस्ताक्षरको स्ट्याम्प लगाएर विभिन्न संचारमाध्यममा दिने निधो गरियो ।

गिरिजाप्रसादको आवाजमा ज्ञानेन्द्रको कदम विरुद्ध सन्देश सम्प्रेषण गर्न सके अझ प्रभावकारी हुने ठानेर मैले आफ्नो रेकर्डरमा केही प्रश्नहरू रेकर्ड गरें । अब कसरी प्रश्नहरूको जवाफ गिरिजाप्रसादबाट लिने भन्ने अन्योल उत्पन्न भयो । टेलिफोन लाइन सबै अवरुद्ध गरिएको थियो ।
उक्त दिन आफ्नो परिवारका सदस्यलाई भेट्न दिन्छ भन्ने सूचना पाएसँगै तत्कालीन अवस्थाको प्रतिक्रिया लिने गरी प्रश्नहरू रेकर्ड गरिएको रेकर्डर लगेर गिरिजाबाबुको आवाज रेकर्ड गराउन पुत्री सुजाता कोइरालालाई अनुरोध गरेको थिएँ ।

चेकिङमा प्रहरीले रेकर्डर खोस्न सक्ने आशंका पैदा भयो । आफ्नो गुप्ताङ्गमा लुकाएर भए पनि यो काम गर्नुपर्छ भनेर सुझाए अनुसार नेतृ कोइरालाले गिरिजाबाबुको सन्देश रेकर्ड गराएर ल्याउन सफल भइन् ।

त्यतिबेला नेपाली सञ्चार गृहहरूलाई राज्यले आफ्नो कब्जामा लिइसकेको थियो । गिरिजाबाबुको सन्देश नेपाली सञ्चारमाध्यमबाट प्रेषित गर्ने कुनै सम्भावना थिएन । अब यो सन्देशको क्यासेट रेकर्ड गरेर देशव्यापी वितरण गर्नुपर्छ भन्ने निर्णयसँगै हजारौं क्यासेट तयार गरी उपलब्ध नेता कार्यकर्तामार्फत विभिन्न जिल्लामा पठाएर राजाको कदम विरुद्ध जनतालाई आन्दोलित बनाउने काम भएको थियो । सरकारले नेपाली मिडियाहरूलाई आफ्नो नियन्त्रणमा राखेको भएतापनि बीबीसीलगायत अन्तर्राष्ट्रिय संचारमाध्यमहरूलाई भने समाचार सम्प्रेषणमा रोक लगाउन सकेको थिएन ।

बीबीसी नेपाली सेवामार्फत गिरिजाबाबुको सन्देश सम्प्रेषण गराउने उद्देश्यले क्यासेट बोकेर म सीधै बीबीसी नेपाली सेवामा कार्यरत सुशील शर्माको घर धापासी पुगेको थिएँ । तर उनीसँग भेट भएन । (गत हप्ता उनको निधन भएको छ । उनीप्रति हार्दिक श्रद्धा सुमन अर्पण गर्दछु) बरु उनको घरमा बेलायती समाचार एजेन्सी रोयटर्सका नेपाल प्रतिनिधि गोपाल शर्मासँग भेट भयो ।

‘सुशीलजी हिमाल खबरपत्रिकाको पुल्चोक अफिसमा राजेन्द्र दाहालसँग हुनुहुन्छ’ भन्ने सूचना पाएपछि म सीधै त्यहाँ पुगेको थिएँ । ‘सुशीलजीलगायत अन्तर्राष्ट्रिय मिडियाका सबै पत्रकारहरू याक एण्ड यती होटलमा जम्मा भएका छन्’ भन्ने सूचना राजेन्द्र दाहालबाट प्राप्त भएसँगै म तत्काल त्यहाँ पुगें ।

सुशील शर्मासँग त भेट भएन तर अर्का एक जना बीबीसी नेपाली सेवाका रिपोर्टर नवीन सिंह खड्का भेट भए । राजाको कदम विरुद्धको प्रतिक्रिया रेकर्ड गरिएको नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको सन्देश आफूले लिएर आएको जानकारी गराउँदा ‘त्यस्तो सामग्री हामीले प्रसारण गर्न मिल्दैन । आवश्यक परे हामी आफैं पनि अन्तर्वार्ता लिन सक्छौं नि’ भन्ने प्रतिक्रिया उनीबाट आयो । नजरबन्दमा रहेका गिरिजाप्रसाद कोइरालाको अन्तर्वार्ता लिने काम त्यतिबेला सम्भव थिएन ।

तर मसँग गिरिजाप्रसादको सन्देश रहेको सूचना अन्तर्राष्ट्रिय मिडियाका प्रतिनिधिहरूको माझ फैलियो । एक जना बीबीसी हिन्दी सेवाका प्रतिनिधि मलाई भेटन आए मैले उनलाई त्यो क्यासेट दिएँ । गिरिजाबाबुको त्यो सन्देश बीबीसी हिन्दी सेवामा बज्यो । भ्वाइस अफ अमेरिका, आज तक, अलजजिरा, रोयटर्सलगायत अधिकतर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उक्त सन्देश मसँगबाट लिएर आफ्नो प्रमुख समाचारको रूपमा प्रेषित गरेका थिए ।

भूमिगत दलका नेताहरूलाई अन्तर्राष्ट्रिय मिडियामाझ अन्तरक्रिया गराउँदै गर्दा एक दिन रातको १ बजिसकेको थियो । ट्याक्सीमा जानको लागि पैसा नभएकोले याक एण्ड यती होटलबाट पैदल हिंडेर पुल्चोकतर्फ आफ्नो डेरामा जाँदै गर्दा सिंहदरबारको मूल गेट अघि सेनाले मेरो झोला खानतलासी गर्यो । झोलामा गिरिजाप्रसादसँगको अन्तर्वार्ताको क्यासेट थियो । त्यो देखेर यो के हो ? भनी सेनाले प्रश्न ग¥यो । मैले ‘गीतको क्यासेट हो’ भनेर जवाफ फर्काएपछि त्यहाँबाट उम्किएको थिएँ ।

धन्न प्रेस विज्ञप्ति बाँडेर सकिएको थियो । प्रेस विज्ञप्ति भेटेको भए मलाई त्यहीं पक्राउ गथ्र्यो होला । हस्याङफस्याङ गर्दै डेरातर्फ दौड्दै गर्दा थापाथलीको पुलमाथि कुकुरले झम्टिहाल्यो । डेरामा हिंडेको म इन्जेक्सन लगाउन टेकु अस्पताल पुगेको थिएँ ।

प्रहरीको निगरानी बढेसँगै कांग्रेस नेतृ सुजाता कोइराला भने भूमिगत शैलीमा भारततर्फ निर्वासित भइन् । मुलुकमा लोकतन्त्र संकटमा परेको बेला गिरिजाप्रसाद जस्तो नेतृत्वको अभाव खड्किएकोले यो स्मरण पस्कने जमर्को गरेको हुँ । लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएकोले कुनै बहानामा लोकतन्त्र माथि वक्रदृष्टि लगाउनेहरूलाई परास्त गर्ने साहस र हिम्मत लोकतन्त्रप्रेमीमा हुनुपर्छ ।

अहिले मुलुकमा विधि, विधान, सेवा, सद्भाव, मूल्यांकन र नैतिकता लोप हुँदै गएको देख्दा लाग्छ त्यतिबेला उक्त मिहिनेतको पारिश्रमिक लिएको भए हुने रहेछ । आखिर मैले नलिए पनि उनीहरूले उक्त क्यासेट भजाएर हजारौं डलर आर्जे होलान् । पैसा लगानी गरेर सम्मानित र पुरस्कृत हुन पाइने हाम्रो मुलुकमा विदेशीको नजर पर्ने विभिन्न विधामा उत्कृष्ट कार्य गर्नेहरूको मात्र यथार्थ मूल्यांकन भएको होला । अपवाद छोडेर पुरस्कार समेत नातावाद र कृपावादमा जेलिएको छ । अधिकतर सरकारी कार्यालयमा फजुल पैसा विना कुनै काम गर्न नसकिने हाम्रो नियतिको अगाडि यस्ता तथ्यहरू दन्त्यकथा जस्तै लाग्न सक्छ ।

२०६२÷६३ सालको आन्दोलनताका कृष्ण मन्दिर पाटन परिसरमा गिरिजाप्रसादसँग भेट हुँदा आफूले राजाको कदम विरुद्ध अन्तर्राष्ट्रिय सञ्चारमाध्यममार्फत निभाएको भूमिका स्मरण गराउँदा मलाई धाप मार्दै भन्नुभएको थियो ‘त्यो सब तिमीले गरेको हो ? पछि किन भेटेनौ ? यु डिड ग्रेट वर्क । मौकामा हीरा फोड्नु भन्छन् नि यै हो’ भनेर मलाई हौसला प्रदान गरेका थिए ।

पत्रकारिता पेशाकै बद्नाम गर्नेहरू नै सम्मानित र पुरस्कृत हुने हाम्रो मुलुकमा सत्य उजागर गर्न खोज्दा उल्टो आलोचनाको भागिदार बन्न बेर लाग्दैन । हाम्रो एउटै उद्देश्य प्रजातन्त्र माथि वक्रदृष्टि लगाउनेहरूलाई ठेगान लगाउने हो । त्यसैले झूटमा रमाउनेहरूसँग अल्झिएर आफ्नो समय बर्बाद गर्नु बेकार जस्तै लाग्छ । जित उनीहरूकै हुन्छ । कलियुग न हो यो ।

‘पछि तिमी किन आएनौ ? मौकामा हीरा फोड्नु भन्छन् नि यही हो’ भन्दै गिरिजाबाबुले मलाई मारेको ‘धाप’ र उहाँको वाक्यांशलाई नै मैले पुरस्कार ठानेको छु ।

राजा ज्ञानेन्द्रलाई घुँडा टेकाउँदै संसद पुनःस्थापनाका लागि गिरिजाप्रसाद कोइरालाको चट्टानी अढानलाई सार्थक तुल्याउन राष्ट्रिय÷अन्तर्राष्ट्रिय मिडियाहरूको महत्वपूर्ण भूमिका रहेको थियो । चौतर्फी दबाबकै कारण आफ्नो महत्वाकांक्षी कदमबाट पछि हट्न तत्कालीन राजा ज्ञानेन्द्र शाह बाध्य भएका थिए । गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सफल २०६२÷६३ सालको आन्दोलनले मुलुक शान्तिको बाटोमा अगाडि बढेको थियो ।

मेरो बुवा स्व.हिमनाथ पोख्रेलले मलाई बारम्बार भनिरहनुहुन्थ्यो, ‘राणाहरूलाई कोइरालाले हराएका हुन् । बीपी कोइरालाको बाटो कहिल्यै नछोड्नु ।’ म कुनै कार्यक्रममा गएर घर फर्कंदा बुवाको एउटै प्रश्न हुन्थ्यो, ‘कोइरालासँग गएको हो ? गिरिजा जस्तो निडर हुनुपर्छ । निहुँ खोजेपछि राजालाई त हुत्याइदिए ।’

मुलुकमा अहिले पनि गिरिजाप्रसादको अभाव खड्किएको छ । शारीरिक कद उच्च भए सरी राजनीतिक उँचाइको शिखरमा पुग्न उनी सफल भए । तर २०५१ सालमा आफ्नो बहुमत सरकार हुँदाहुँदै संसद विघटन गर्ने निर्णयले अस्थिर राजनीतिको बीजारोपण गरेको आरोप खेपिरहेका कोइरालाले सशस्त्र द्वन्द्व मच्चाइरहेको माओवादीलाई राजनीतिको मूलधारमा प्रवेश गराई मुलुकमा शान्ति स्थापना गरेसँगै एशियाकै राजनेताको सम्मान प्राप्त गर्न सफल भए ।

निर्भीक र निडर नेताका रूपमा चिनिने गिरिजाप्रसाद कोइरालाको निधन २०६६ साल चैत ७ गते भएको थियो । २०४६ सालपछिको २० वर्षे नेपाली राजनीतिको शीर्ष स्थानमा रहने एक मात्र नेता गिरिजाप्रसाद कोइराला बहुदलीय व्यवस्थाको पुनस्र्थापनापछि चार पटक नेपालको प्रधानमन्त्री बन्न सफल भए । २०४८ सालको आम निर्वाचनमा नेपाली कांग्रेसले बहुमत ल्याएपछि पहिलो पटक २०४८ जेठ १५ गते गिरिजाप्रसाद कोइराला नेपालको प्रधानमन्त्री बनेका थिए ।

१० वर्षे सशस्त्र युद्धमा रहेका माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन भएको १२ बुँदे सम्झौता र दोस्रो जनआन्दोलनको नेतृत्व गरेका गिरिजा कोइरालाले आफू हारेर भए पनि द्वन्द्वले आक्रान्त मुलुकमा शान्ति स्थापनाका लागि साहसिक कदम उठाएको इतिहास जगजाहेर छ ।

नेपाली कांग्रेसका ‘महामानव’ बीपी कोइरालाका कान्छा भाइ गिरिजाप्रसाद कोइरालाको भारतको बिहार राज्यको सहरसा जिल्लाको टेडी भन्ने गाउँमा वि.सं. १९८१ असार १८ मा जन्म भएको थियो । बुवा कृष्णप्रसाद कोइराला र आमा दिव्या कोइराला निर्वासित भएको बेला गिरिजाप्रसादको जन्म भएको हो ।

उहाँका दुई दाजुहरू बीपी कोइराला तथा मातृकाप्रसाद कोइराला नेपालका प्रधानमन्त्री भएका थिए । सन् १९२९ मा परिवारसँगै नेपाल फर्किएसँगै उहाँको सुष्मा कोइरालासित विवाह भयो । गिरिजाप्रसाद कोइराला फाउन्डेसनकी अध्यक्ष तथा पूर्व परराष्ट्र मन्त्री कांग्रेस नेतृ सुजाता कोइराला गिरिजाप्रसाद कोइरालाकी एक मात्र सन्तान हुनुहुन्छ ।

नेपालको इतिहासमा गिरिजाप्रसाद कोइरालालाई निडर र निर्भीक नेताका रूपमा चिनिन्छ । मुलुकमा शान्ति स्थापना गर्दै प्रजातन्त्रको जग बलियो बनाउन उनको महत्वपूर्ण भूमिका रहेको तथ्य इतिहासमा दर्ज भइसकेको छ । सहमति, सहकार्य र एकताका सूत्रधार कोइरालाको माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने निर्णय नै विश्वकै एक ऐतिहासिक सफलता हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu