राष्ट्रपति भण्डारीसहित ५४ सदस्यीय टोली बंगलादेश पुग्यो
काठमाडौं – बंगलादेशको दुई दिने औपचारिक भ्रमणका लागि राष्ट्रपति विद्यादेवी भण्डारी ढाका पुग्नुभएको छ ।५४ सदस्यीय भ्रमण टोलीको नेतृत्व गर्दै राष्ट्रपति भण्डारी एयरलाइन्सको न्यारोबडी जहाजमार्फत ढाका पुग्नुभएको हो । उहाँलाई ढाकास्थित हजरत सहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा समकक्षी अब्दुल हमिद र बङ्गलादेशका लागि नेपाली राजदूत डाक्टर वंशीधर मिश्रले स्वागत गर्नु भयो ।
राष्ट्रपति भण्डारी त्यहाँ राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्म शताब्दी विशेष समारोहका अवसरमा जान लाग्नुभएको हो । राष्ट्रपति भण्डारीले समकक्षी हमिदसँग दुई पक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ भने प्रधानमन्त्री शेख हसिना लगायतले राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
कार्यक्रममा राष्ट्रपति भण्डारीसहित सार्क राष्ट्रका अन्य दुई राष्ट्र तथा सरकार प्रमुखको सहभागिता रहनेछ। माल्दिभ्सका राष्ट्रपति इब्राहिम मोहम्मद सोली र श्रीलंकाका प्रधानमन्त्री माहिन्दा राजापाक्षे यसअघि नै बंगलादेश पुगिसक्नुभएको छ ।
राष्ट्रपति भण्डारीलाई त्यहाँ २१ तोपको सलामीसहित ‘गार्ड अफ अनर’ ले सम्मान गरिएको छ। आजै उहाँले समकक्षी हमिदसँग द्विपक्षीय भेटवार्ता गर्नेछिन् भने प्रधानमन्त्री शेख हसिना लगायतसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।