नयाँ सरकार गठनमा माओवादीले निर्णायक भूमिका खेल्छ:प्रचण्ड
कपिलवस्तु -नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई हटाएर नयाँ सरकार गठनमा माओवादी केन्द्रले निर्णायक भूमिका खेल्ने बताउनुभयो ।
कपिलवस्तु जिल्लास्तरीय प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नु ‘हामी नयाँ सरकार गठन प्रक्रियामा निर्णयका भूमिका खेल्छौँ। प्रधानमन्त्री हुनु नै महत्वपूर्ण होइन। संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षाको लागि राख्छौँ। आफू प्रधानमन्त्री नभएपछि त्यसभन्दा माथि रहन्छौं।’
नेपाली जनताको अधिकार र पहिचान ध्वस्त पार्ने विरुद्ध लाग्ने दाबी गर्नु भयो । ओली संविधान र मधेशविरोधी भएको आरोप लगाउनुभयो ।
‘संविधान र मधेशको सबैभन्दा विरोधी ओली नै हुन्। ओलीले मधेशीको नाम सुन्न चाहँदैनन्’ उहाँले भन्नुभयो , ‘केही मधेशी नेताहरु मन्त्री पदको लागि ओलीसँग जान खोजिरहेका छन्। मैले महन्थ ठाकुरलाई गठबन्धनको सरकार बनाएर मधेशी जनताको अधिकारको लागि लड्ने सरकार निर्माण गरौँ भनेको छु। ओलीसँग नजानुहोस् मैले भनिरहेको छु।’
कार्यक्रममा प्रचण्डले मधेशविरोधी शक्तिसँग मिलेर जान नदिनको लागि दबाब दिनसमेत जनतालाई आग्रह गर्नु भयो । भारतसँगको सीमानाको समस्या समाधानमा समेत पहल गर्ने बताउनुभयो । नयाँ सरकार बन्नुअघि र बनेपछि पनि पहिचानको अधिकारको लडाइँमा लाग्ने दाबी गर्नु भयो ।