बस्ती नै अर्काको नाममा, ३२ परिवार बिचल्लीमा
उदयपुर – ६ दशकदेखि बसोबास गर्दै आएको जग्गा पत्तै नपाई अर्कैले दर्ता गरेपछि बेलका नगरपालिका–२ करहिया क्षेत्रका ३२ परिवार बिचल्लीमा परेका छन्। २०१६ सालदेखि उनीहरूले आफू बसेको पर्ती ऐलानी जग्गा फरक व्यक्तिले दर्ता गरेको थाहा नपाउँदा बिचल्लीमा परेका हुन्।
तत्कालीन अवस्थामा सप्तकोसीले पश्चिमी क्षेत्र कटान गरेपछि उनीहरू त्यहाँबाट विस्थापित भई करहिया को खाली पर्ती ऐलानी जग्गामा बसोबास गर्दै आएका थिए। ३२ परिवार थारू र दलित समुदायका रहेका छन्। सुरुमा १०र१५ परिवार बस्दै आएकोमा २०२५ सालमा नदीले थप कटान गरेपछि थप परिवार सुरक्षित आश्रयका लागि सो ठाउँमा आएको वडाध्यक्ष मिश्रीलाल चौधरीले बताउनुभयो ।
सोझासाझा जनतालाई थाहै नदिई भूमाफियाले गाउँ ब्लकको जग्गा आफ्नो नाममा दर्ता गराएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो ‘जग्गा दर्ता गर्ने निकाय र दर्ता गराउनेको मिलमतो र गलत प्रवृतिका कारण जनताले दुःख पाए। ‘तीन पुस्तादेखि बस्दै आएका परिवार छन्,’ वडाध्यक्ष चौधरीले भन्नुभयो , ‘भोगचलनका आधारमा पनि उनीहरूको हुने देखिन्छ, त्यसैले दर्ता गर्नेले मिलेर अघि बढ्नुको विकल्प छैन।’
दर्ता गर्ने निकाय र दर्ता गराइमाग्ने व्यक्तिको गलत मनसाय र प्रवृतिका कारण गरिब परिवारले दुःख पाएको उहाँको भनाइ छ।