लोकतन्त्रमाथि ओलिबाट खतरा छ त्यो हटाउनुपर्छ;भट्टराई
गोरखा -जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा। बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई छिट्टै बहिर्गमन गर्ने बताउनु भएको छ ।
मंगलबार गृह जिल्ला गोरखा आएका उहाँले पत्रकारसँगको कुराकानीमा प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन आफ्नो पार्टी तयार रहेको बताउनु भयो ।
‘लोकतन्त्रमाथि जहाँबाट खतरा छ त्यो हटाउनुपर्छ, त्यसैले प्रधानमन्त्रीको बहिर्गमन पहिलो शर्त हो, त्यसका लागि हाम्रो पार्टी जे गर्न पनि तयार छ,’ उहाँले भन्नु भयो ।
प्रधानमन्त्रीले राजीनामा दिने संकेत नभएका कारण हटाउनका लागि अविश्वासको प्रस्ताव ल्याउनुको विकल्प नभएको भट्टराईको भनाइ छ । ‘ओलीले राजीनामा गर्नुहुन्छ भन्ने अपेक्षा गर्न सकिन्न, नैतिकता नभएको मान्छेसँग त्यो आशा गर्नु मुर्खता हो, उहाँलाई हटाउने भनेको अविश्वासको प्रस्ताव ल्याउनु नै हो,’ उहाँले भन्नु भयो ।
अविश्वासको प्रस्ताव ल्याउदै गर्दा वैकल्पिक प्रधानमन्त्रीको उमेदवार पनि दिनुपर्ने भएकाले केही अन्योलता भएको भट्टराईले बताउनु भयो । कांग्रेस, नेकपा माओवादी, जसपा र एमालेमा ओलीसँग असन्तुष्ट रहेका पक्षहरु मिलेर छिट्टै अविश्वासको प्रस्ताव ल्याएर ओलीलाई प्रधानमन्त्रीबाट हटाउने उहाँले जानकारी दिनु भयो । वैकल्पिक प्रधानमन्त्रीको उम्मेदवार जो पनि हुन सक्ने धारणा उहाँले व्यक्त गर्नु भयो ।