Connect with us
Kapilvast Forest

अम्बाका पात उमालेर गार्गल गरिदिउँ, घाँटीमा बसेको कोरोना चट :प्रधानमन्त्री ओली

२०७७, २६ चैत्र बिहीबारमा प्रकाशित

काठमाडौं – बेसारपानी खाएपछि कोरोना लाग्दैन भन्ने विवादास्पद अभिव्यक्ति दिनुभएका प्रधानमन्त्री ओलीले तातोपानीको बाफ लिने र नुनपानीले कुल्ला गर्दा कोरोनाबाट बच्न सकिने कुरा दोहोर्‍याउनुभएकाे छ ।

नेपाल चेम्बर अफ कमर्सको ७० औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले तातोपानीको बाफ लिने, नुनपानीले कुल्ला गर्ने बानी बसाल्दा कोरोना सङ्क्रमणबाट जोगिन सकिने पनि बताउनुभयो । कोभिड–१९ विरुद्धको खोपले पनि शत प्रतिशत काम नगर्ने भएकाले सावधानी अपनाउनु नै सबैभन्दा सुरक्षित विधि रहेको ओलीले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अलि तातोतातो पानी लिँदै, नस लिँदै, नाक स्याकस्याक गरेर सफा गरिदिऔँ पहिले गएर नाकमा बस्ने हो कोरोना त्यहीँबाट फालिदिएपछि चैट । नुनपानीले गालगुल गरिदियो, सकिन्छ भने अम्बाका दुई वटा पात उमाल्दिउँ बेसरी गालगुल गरिदिउँ घाँटीमा बसेको चट, स्टिम लिइदिउँ फोक्सोबाट चट, त्यति गर्दाखेरl धेरै सुरक्षित भइन्छ । अब हन्ड्रेड पर्सेन्ट सुरक्षित त भ्याक्सिनले पनि गर्दैन । भ्याक्सिनले पनि केही प्रसेन्ट सुरक्षित गर्ने होऽ केही प्रसेन्ट बाँकी रहन्छ, त्यही केही प्रसेन्टभित्र परियो भने गैगयो नि । त्यसकारण पूर्ण भन्ने कुरा, शत प्रतिशत केही पनि छैन तर हामीले सावधानी अपनाउनुपर्छ ।’

पछिल्लो समय भारतमा कोभिड सङ्क्रमण दर बढ्दै गएको र खुला सिमानाका कारण नेपालमा पनि जोखिम बढेकाले सचेत बन्न प्रधानमन्त्री ओलीले आग्रह गर्नुभएको हो । उहाँले अहिले नै सतर्कता नअपनाए जनजीवन ठप्प पार्नुपर्ने स्थिति आउन सक्ने भएकाले सबैले सचेत भइ सावधानीका उपायहरू अपनाउनुपर्ने बताउनुभयो । भौतिक दुरी कायम गर्ने, मास्क लगाउने र हातमुख धुने लगायतका काम गर्दा कोभिड सङ्क्रमणबाट जोगिन सकिने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘कोभिड १९ को सन्दर्भमा म भन्न चाहन्छु । हाम्रो जनजीवनलाई ठप्प पनि नगरौँ तर बाध्य भएरै ठप्प पार्न पर्ने स्थिति आउन सक्छ यदि हामी सावधान भएनौँ भने । हामी सावधान हुनुपर्छ अहिलेदेखि, दुरी कायम गर्ने, मास्क लगाउने । किञ्चित हामी काभिड–१९ लाई अवसर नदिऔँ । मैले भन्ने गरेको छु यहाँबाट फर्किएपछि हामी सबैले हातमुख राम्रोसँग धोऔँ ।’

आफूले कोभिडको बारेमा कुरा गर्दा कतिपयले आफ्नो कुरा गर्नु भन्दै सुझाव दिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले कोभिड नियन्त्रण गर्न नसक्दा प्रधानमन्त्रीको आलोचना हुने भएकाले आफूले पनि कोभिड धपाउनका लागि कुरा गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘कतिपयले भन्छन् मलाई, भनिआएका छन् । आफ्नो कुरा गर्नु नि भनेर । आफ्नो कुरा गर्ने भनेको मान्छेले के बुझेका छन् भने मैले राजनीतिक कुरा गर्नुपर्छ । अनि तपाईँहरूसँग आएर मैले राजनीतिको के भन्ने सङ्गठनात्मक कुरा बताउने कि, राजनीतिका दाउपेचका कुरा बताउने कि, के बताउने तपाईँहरूलाई लड्डु खान सिकाउने कि । तपाईँहरूसँग त बिजनेसका कुरा गर्नुपरेन, व्यापारका कुरा गर्नुपरेन, उद्योग व्यवसायका कुरा गर्नुपरेन, त्यही कुरा गर्नुपर्छ । अब कोभिड १९ छ, कोभिड १९ को बारेमा कुरै नगर्ने कसरी हुन्छ ? कोभिड–१९ ले देश आक्रामक छ । भ्याक्सिन आइपुगेन भने प्रधानमन्त्रीलाई गाली आउँछ, मान्छे बिमारी भयो प्रधानमन्त्रीलाई गाली आउँछ, निःशुल्क परीक्षण गरिएको छ, निःशुल्क उपचार गरिएको छ, निःशुल्क खोप लगातार चलाइएको छ तर पनि प्रधानमन्त्रीको आलोचना भइराखेको छ भने कोभिड जहाँ लागे पनि प्रधानमन्त्रीलाई हमला हुन्छ भने प्रधानमन्त्रीले कोभिडलाई लखेट्नु परेन । प्रधानमन्त्रीले पनि कोभिडलाई लखेट्छ ।’

फरक प्रसङ्गमा प्रधानमन्त्री ओलीले उद्योग व्यवसायलाई सरकारले दिने सेवामा एकद्वार प्रणाली लागू गरिएको बताउनुभयो । यस्तै कर्मचारीतन्त्रमा हुने प्रक्रियागत झन्झटलाई पनि समाधान गर्दै, सरलीकृत बनाउँदै लग्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री ओलीले उपभोग्य वस्तु आयात गर्नुभन्दा लगानी र प्रविधि आयात गरी नेपालमै उत्पादन बढाउने र निर्यात गर्ने काम गर्न व्यवसायीहरूलाई आग्रह गर्नुभयो । उत्पादन बढाइ निर्यात बढाउन सके व्यापार सन्तुलन कायम हुने र अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने पनि प्रधानमन्त्री ओलीले बताउनुभयो ।

उहाँले भन्नुभयो ‘हामीले आयात गर्ने कुराहरू– लगानी र प्रविधि, उत्पादित वस्तु, उपभोग्य वस्तु हामीले आयात गर्ने होइन । अब जहाँसम्म अति जरुरी छ त्यो हालका लागि आयात गर्नुपर्‍याे । तर हाम्रा निम्ति आयात नगरि नहुने कुराबाहेक अनावश्यक चिजहरू आयात गर्नु हुँदैन । अनावश्यक वस्तुहरू उपभोग गर्न छोड्यौँ भने हाम्रो व्यापार असन्तुलनमा सकारात्मक प्रभाव आइहाल्छ ।’

अन्य देशकाे तुलनामा नेपालको अर्थतन्त्रमा कोभिड–१९ को प्रभाव कम परेको प्रधानमन्त्री ओलीले दाबी गर्नुभयो । कोभिडको कारण नेपालको पर्यटन क्षेत्र सबैभन्दा धेरै प्रभावित भएको र अर्थतन्त्रमा धक्का भएको भए पनि उठ्नै नसक्ने गरी असर नपरेको उहाँकाे भनाइ छ ।

प्रधानमन्त्री ओलीले लामो समय बिग्रिएर रहेको अर्थतन्त्रलाई ट्र्याकमा ल्याउन समय लागेको पनि बताउनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu