नेपालमा गैँडाको संख्या ७५२ पुग्यो
काठमाडौं-नेपालमा गैँडाको संख्यामा वृद्धि भएको छ । चितवन राष्ट्रिय निकुञ्जलगायत नेपालका निकुञ्ज क्षेत्रमा गैँडाको संख्या १०७ ले बढेर ७५२ पुगेको हो ।चितवन राष्ट्रिय निकुञ्जले आज शनिबार सौराहामा पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिएको हो ।
कार्यक्रममा वन तथा वातावरण मन्त्रालयका सचिव डा. विश्वनाथ ओलीले गैँडाको संख्या सार्वजनिक गर्दै चितवन राष्ट्रिय निकुञ्जमा ६९४, बर्दिया राष्ट्रिय निकुञ्जमा ३८, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १७ र पर्सा राष्ट्रिय निकुञ्जमा ३ गैँडा भेटिएको जानकारी दिए ।
उनका अनुसार तीमध्ये १४६ भाले, १९८ पोथी, ४०८ लिङ्ग नछुट्टिएका रहेका छन् । तीमध्ये वयस्क ५२०, अर्धवयस्क ९६ र बच्चा १३६ रहेका छन् । पर्सा राष्ट्रिय निकुञ्जको प्रतापपुरबाट सुरु गरिएको गैँडा गणना २३ दिनको दिनमा शुक्रबार सम्पन्न भएको हो ।
यस वर्ष गणनामा ४३ वटा हात्ती र दुई सय ५० जना जनशक्ति परिचालन गरिएको थियो । पछिल्लो पटक सन् २०१५ को गणनामा नेपालमा कुल ६४५ वटा गैँडा रहेका थिए । तथ्यांकअनुसार चितवनमा ६०५, बर्दियामा २९, शुक्लाफाँटामा ८ र पर्सामा ३ गैँडा भेटिएका थिए ।