नयाँ बसपार्कका टिकट काउण्टर बैशाख १ गतेदेखि बन्द हुने
काठमाडौं – नेपालको राष्ट्रिय बसपार्कका रुपमा रहेको गोँगबुस्थित नयाँ बसपार्कका टिकट काउण्टर आगामी बुधबारदेखि बन्द हुने भएका छन् ।बसपार्कका टिकट काउण्टरलाई अन्तर्राष्ट्रियस्तरको टिकट काउण्टरमा सञ्चालन गर्नका लागि आवश्यक पूर्वाधार निर्माण गर्नुपर्ने भएकाले हाल सञ्चालन हुँदै आएका काउण्टर वैशाख १ गते देखि केही समयका लागि बन्द हुने भएका हुन् ।
नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवरले बसपार्कका काउण्टरलाई अन्तर्राष्ट्रिय मापदण्डबाट सञ्चालन गर्नका लागि टिकट काउण्टर केही दिनका लागि बन्द गर्न लागेको जानकारी दिनुभएको छ ।
नयाँ बसपार्कभित्र हाल ३५ टिकट काउण्टर सञ्चालनमा छन् । प्रालिले टिकट काउण्टर मर्मत गर्न लागिएकाले केही समयका लागि आफ्नो व्यवस्थापनमा टिकट बिक्री वितरणको व्यवस्था मिलाउन यातायात कम्पनीलाई आग्रहसमेत गरेको छ ।