ओलीको अहंकारले लोकतन्त्र धरापमा छ: माधव नेपाल
जनकपुरधाम-नेपाल कम्युनिस्ट पार्टी एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अहंकारले लोकतन्त्र धरापमा परेको बताउनुभएको छ ।
शुक्रबार जनकपुरधाम पार्टी कार्यालयको मिथिला भवनमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले ओलीको दम्भले नै लोकतन्त्र धरापमा परेको बताउनुभयो ।
‘ओलीको दम्भ र अहंकार धरहराभन्दा माथि पुगिसकेको छ । उनको अहंकारले पार्टीमा संकट सिर्जना भएको छ,’ नेता नेपालले भन्नुभयो, ‘लोकतन्त्र र कम्युनिस्ट आन्दोलन ओलीकै कारण धरापमा परेको हो ।’
ओलीले मनपरी गरेको भन्दै नेता नेपालले व्यक्तिवाद, गुटवाद व्यवहार ओलीबाटै भएको आरोप लगाउनुभयो । यसअघि हिजो राजधानी काठमाडौँमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओलीले गुटगत राजनीति आफूलाई मान्य नहुने बताउनुभएको थियो ।
नेता नेपालले फागुण २८ को निर्णय जनताको हितमा नभएको भन्दै ओलीलाई फेरि ०७५ को जेठ ३ मा फर्कन आग्रह गर्नु भएको छ ।
ओलीले मेरियट होटलको भेटघाटमा पदको भिक्षा मागेको आरोप लगाउँदै नेता नेपालले अयोग्य व्यक्तिलाई केन्द्रीय कमिटिको सदस्य बनाएर ओलीले मनपरि गरेको बताउनुभयो ।