विजयनगर गाउँपालिका पूर्ण खोप घोषणा
दिपक के.सी.कपिलवस्तु -विजयनगरको सान पूर्ण खोप गाउँपालिका हाम्रो अभियान, हाम्रो प्रतिवद्धता गुणस्तरिय खोपको सुनिश्चितता भन्ने नारा सहित कपिलवस्तुको विजयनगर गाउँपालिकालाई एक कार्यक्रमका विच पूर्ण खोप घोषणा गरिएको छ । शुक्रबार गाउँपालिकाको सभाहलमा भएको कार्यक्रममा पालिकालाई पूर्ण खोप पालिका घोषणा गरिएको हो ।
गाउँपालिका पूर्ण खोप हुनु राम्रो पक्ष रहेको बताउदै यसको दिगोपनाका लागी चुनौति थपिएको लुम्बिनी प्रदेश सदस्य अर्जुन कुमार के.सी.ले बताउनु भयो । कपिलवस्तु जिल्लालाई नै पूर्ण खोप जिल्ला घोषणाका लागि गाउँपालिकाले देखाएको तत्परता र सफलता सराहनिय भएको बताउनु भयो ।
पूर्ण खोपका लागी गाउँपालिका स्वास्थ्य शाखा अन्तर्गतका महिला स्वयसेविकाहरुको भूमिका प्रशसनिय रहेको समेत प्रदेश सभा सदस्य के.सी.ले बताउनु भयो ।पूर्ण खोप निकै जटिल र अप्ठ्यारो अभियान लाई सफल बनाएकोमा गाउँपालिकालाई धन्यवाद समेत दिनु भयो ।
विजयनगर गाउँपालिका सहित जिल्लाका ६ वटा पालिकाहरु पूर्ण खोप घोषणा भइसकेको जिल्ला समन्वय समिति सभापति नारायण ज्ञवालीले बताउनु भयो । पूर्ण खोप घोषणामा मात्रै सिमित नराखेर यसलाई निरन्तता दिदै दिगोपना कायम गर्नु पर्नेमा जोड दिनु भयो । जिल्लामा बाँकी रहेका कपिलवस्तु,कृष्णनगर, महाराजगंज र यशोधारा पालिकालाई पनि बैशाख महिना भित्र नै पूर्ण खोप घोषणा गर्ने तयारी रहेको उहाँले बताउनु भयो । कुनै पनि बालबालिका खोपबाट बन्चित हुन नहुने र त्यसको लागी महिला स्वयसेविकाले निभाउने भूमिका सेवा मात्रै नभएर पुण्यको काम भएको शिवराज नगरपालिका प्रमुख नेत्रराज अधिकारीले बताउनु भयो ।