भारतमा आजदेखि १८ वर्षभन्दा माथिकालाई कोरोनाविरुद्धको खोप लगाइँदै
एजेन्सी-भारतमा आजदेखि १८ वर्षभन्दा माथिका उमेर समूहलाई कोरोनाविरुद्धको खोप लगाइँदै छ । कोरोना महामारीको दोस्रो चरणको लहरकाबीच भारतमा आजदेखि तेस्रो चरणको खोप अभियान सुरु हुँदैछ ।
आजबाट सुरु हुने कोरोनाविरुद्धको तेस्रो चरणको खोप अभियान अन्तर्गत १८ वर्ष पूरा भएका र ४९ वर्ष ननाघेकाहरुलाई खोप लगाइने भारती स्वास्थ्य मन्त्रालयले जनाएको छ । देशैभर आजबाट खोप अभियान सुरु हुने भनिएपनि कोरोनाका कारण अति प्रभावित राज्यहरु उत्तरप्रदेश, मध्यप्रदेश, गुजरात लगायतका राज्यमा खोप अभियान सुरु नुहने भएको छ ।
कोरोना महामारीको दोस्रो चरणको लहरले भारतमा भयावहस्थिति उत्पन्न भएको छ । दैनिक सङ्क्रमण दर बढ्दै जादा भारतमा बिरामीको उपचारमा समस्या हुन थालेको हो ।
यसैबीच, भारतको गुजरात राज्यस्थित एक कोभिड अस्पतालमा आगलागी हुँदा १६ जनाको मृत्यु भएको छ । गुजरातको भरुच शहरमा रहेको पटेल वेलफेयर हस्पिटलमा बनाइएको कोभिड वार्डमा आगलागि हुँदा भर्ना भएका १६ जना कोरोना सङ्क्रमितको मृत्यु भएको हो ।