Connect with us
Kapilvast Forest

जनप्रतिनिधिको एक फेसबुक स्टाटसले…

२०७८, १९ बैशाख आईतवारमा प्रकाशित

प्यार अलि खान
प्यूठान नगरपालिका प्रमुख अर्जुनकुमार कक्षपतिले कोरोना महामारीकै समयमा करिब ८ महिना अघि 17 sep 2020 मा आफ्नो सामाजिक संजाल फेसबुक मार्फत जिल्लामा ५ थान भेन्टिलेटर प्राप्त भएको जानकारी दिए। कक्षपतिले भेन्टिलेटर व्यवस्थापन गर्न सहयोग पुर्याउने तात्कालीन स्वास्थ्य मन्त्री भानुभक्त ढकाल प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा तथा चुजी फाउन्डेसन परिवारलाई धन्यवाद समेत दिए। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय परिसर अगाडि स्वास्थ्य सामाग्री सहित फोटो सेशन पनि गरियो।
उक्त जानकारीमूलक स्टाटसलाई ५८१ लाइक १५१ कमेन्ट तथा ११ जनाले सेयर पनि गरे।
महामारीको समयमा जिल्लामा अत्याधुनिक सुविधा सहितको भेन्टिलेटर आयो भन्दै जिल्लाबासी खुशीहुनु स्वभाविक पनि थियो तर नगरप्रमुख कक्षपतिले प्रचार गरेको भेन्टिलेटरको ठाउँमा अरु कुनै स्वास्थ्य उपकरण आएको उनलाई पत्तै थिएन।
कुन सामाग्री पाएको हो त्यसको न्यूनतम जानकारी समेत नराखेका नगर प्रमुख कक्षपतिले गलत सूचनालाई सच्याउने तत्परता समेत देखाएनन्।
समय बित्दै गयो पुनः कोभिड-१९ को दोश्रो चरण सुरु भैरहँदा जिल्लामा आएका भनिएका उक्त भेन्टिलेटर कहाँ छन्? प्रयोग गरिएको छ या छैन? नेताले आफ्ना आफन्तलाई दिए कि? बेचेर खाए की? सम्झिनी पानी छमकिनी! आदि टिप्पणी गरि नागरिक स्तरबाटै समाजिक संजालमा भेन्टिलेटर खोजिको मसला नै बन्यो।
‘जनप्रतिनिधी तथा नेताहरुले वास्तविक सूचना दिनुपर्छ।’ नेपाल पत्रकार महासंघ प्यूठान शाखाका अध्यक्ष सञ्जय रिजालले भने, ‘दिग्भ्रमित बनाउने सूचना तथा प्रचार जनप्रतिनिधिको लागि शोभनीय हुँदैन।’
नेता तथा जनप्रतिनिधिहरुले हचुवाको भरमा नभएर कुन स्वास्थ्य उपकरण के कामका लागि ल्याएको हो भन्नेबारे स्पष्ट जानकारी राख्न सक्नुपर्नेमा नागरिक सरोकार समाज प्यूठानका संयोजक सुमन सुवेदीले जोड दिए। ‘झुठो प्रचार किन गर्ने? सुवेदीले भने, ‘दोस्रो लहरको कोरोनालाई जित्न कोरोना संक्रमित विरामीलाई अक्सिजन कै बढि आवश्यकता पर्ने भएको हुँदा उक्त मेशिनको खोजि नागरिक स्तरबाटै भएको हो।’
उता प्युठान नगरपालिका प्रमुख कक्षपतिले तात्कालीन समयमा पाएको स्वास्थ्य उपकरण भेन्टिलेटर नभएर अरु कुनै भएको पछि थाहा भएको प्रतिक्रिया दिए।
तात्कालिन समयमा आएका भनिएका उक्त स्वास्थ्य सामाग्री तथा उपकरण भेन्टिलेटर नभएर bipap मेशिन रहेको स्वाथ्यकर्मीहरुले बताएका छन्। bipap तथा भेन्टिलेटर श्वासप्रश्वासमा एकै विशेषता राख्ने मेशिन भएता पनि भेन्टिलेटरको तुलनामा बिप्याप एक कमसल सुविधा भएको मेशिन रहेको स्वास्थ्यकर्मीहरुको भनाई छ।
हाल विश्वभर अक्सिजन आपुर्तिमा असहजता उत्पन्न भैरहेको पछिल्लो परिप्रेक्ष्यमा बिप्याप मेशिन चलाउनै प्रमुख चुनौती हुने स्वास्थ्य क्षेत्रका जानकारहरु बताउँछन्।
५ थान bipap मेशिन मध्ये २ थान प्राथमिक स्वास्थ्य केन्द्र भिंग्रिमा तथा ३ थान प्यूठान अस्पतालमा रहेको प्यूठान अस्पताल प्रमुख डाक्टर नविन दर्नालले जानकारी दिए। डाक्टर दर्नालका अनुसार bipap एक प्रकारको भेन्टिलेटर कै सहयोगी रूप हो। गंभीर श्वासप्रश्वास समस्या भएका बिरामीहरूलाई अक्सिजन दिन यस मेशिनको प्रयोग हुने उनले बताए।
प्यूठान अस्पतालका फोकल पर्सन डाक्टर सुदिप अधिकारीका अनुसार bipap मेशिन एक खर्चिलो प्रविधि हो। ‘अक्सिजनको फ्लु अत्यधिक गर्छ।’ उनले भने, ‘हस्पिटलमा थोरै मात्रामा सिलिन्डर रहेकोले यस्लाई चलाउन धेरै चुनौती छ।’ अक्सिजन प्लान्ट जडान गरिएका हस्पिटलमा मात्र bipap लाई चलाउन सहज हुने डाक्टर अधिकारीले बताए। बिप्याप चलाउन ठूलो अक्सिजन सिलिन्डर बढीमा ३ घण्टा तथा सानो सिलिन्डर आधा/एक घण्टामै सकिने उनले बताए।
प्रदेस सरकारको निर्देशन बमोजिम कोरोना लक्षित बिरामीलाई औषधि उपचार गर्न HDU अक्सिजन सुविधा सहितको ५ वटा क्षमताको बेड व्यवस्थापनको तयारी तिब्र पारिएको प्यूठान अस्पतालले जनाएको छ।
उता भिंग्रि प्राथमिक स्वास्थ्य केन्द्रले पनि अति सिकिस्त विरामीलाई अत्यधिक मात्रामा अक्सिजन दिन bipap मेशिन चलाउन सक्ने गरि तयारी अवस्थामा राखेको स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर शैलेश पौडेलले जानकारी दिए। ‘श्वासप्रश्वाससम्बन्धी एक महत्त्पूर्ण सहयोगी मेशिन हो।’ डाक्टर पौडेलले भने, ‘भेन्टिलेटर चलाउन छुट्टै जनशक्ति तथा अन्य आवश्यक स्वास्थ्य उपकरणको व्यवस्थापन गर्नुपर्दछ भने यस्लाई चलाउन हामी नै सक्षम छौं।’
कोभिड-१९ अस्पताल जीमुरपाटामा २१ बेडको तयारी तिब्र पारिएको उनले बताए। ‘५ बेड अक्सिजन सुविधा सहितको हुनेछ।’ उनले भने।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu