मुख्यमन्त्रीमा पोखरेललाई शपथ गराउनु संविधानको उल्लंघनः उपेन्द्र यादव
काठमाडौं-जनता समाजवादी पार्टीले लुम्बिनी प्रदेशमा बहुमत गुमाइसकेका मुख्यमन्त्रीलाई प्रदेश प्रमुखले पुनः मुख्यमन्त्रीमा नियुक्त गरेको घटनाप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले आइतबार एक विज्ञप्ति जारी गरी उक्त घटनाप्रति आफ्नो पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाउनु भएको छ ।
उहाँले लुम्बिनी प्रदेश प्रमुखले पुनः शंकर पोखरेललाई नै मुख्यमन्त्रीको रुपमा शपथ ग्रहण गराउनु संसदीय मूल्य मान्यता विपरित मात्र नभई संविधानको ठाडो उल्लंघन भएको समेत बताउनु भएको छ । विज्ञप्तिमा भनिएको छ, ‘नेपाली काँग्रेस, नेकपा (माओवादी) केन्द्र, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चा संलग्न विपक्षी गठबन्धनले मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेकोमा त्यसलाई सामना नगरी मुख्यमन्त्रीले राजीनामा दिएको र बहुमत गुमाइसकेका मुख्यमन्त्रीलाई प्रदेश प्रमुखले पुन मुख्यमन्त्रीमा नियुक्त गरेको घटनाप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।’
विज्ञप्तिमा दाङबाट निर्वाचित नेकपाकी सांसद विमला खत्रीले माओवादी रोजेको, कपिलवस्तुबाट निर्वाचित सांसद दिर्घ नारायण पाण्डेले पदबाट राजीनामा गरेको र कपिलवस्तुबाट निर्वाचित धर्म बहादुर लाल श्रीवास्तव र नवलपरासी पश्चिमबाट निर्वाचित सांसद अजय शाहीले विपक्षी गठबन्धनले प्रस्ताव गरेका मुख्यमन्त्रीका उम्मेदवार कुलप्रसाद केसीलाई समर्थन गरिसकेको स्थितिमा प्रदेश प्रमुखले पोखरेललाई मुख्यमन्त्रीमा शपथ गराउनु संसदीय लोकतन्त्रको मूल्य मान्यता विपरित रहेको ठहर गरिएको छ ।
जसपाले लुम्बिनीमा घटेको यो घटनालाई असंवैधानिक कदमको संज्ञा दिँदै नेपालको संविधान बमोजिम विधि र प्रक्रियालाई अविलम्ब सुचारु गर्न तथा प्रदेशसभाको बहुमत अनुरुप नयाँ सरकारका लागि मार्ग प्रशस्त गर्न आह्वान समेत गरेको छ । आइतबार पोखरेलले मुख्यमन्त्रीको पदबाट राजीनामा दिएको केही घण्टापछि पुनः मुख्यमन्त्री पदको सपथ लिनु भएको थियो ।
