Connect with us
Kapilvast Forest

४६ जिल्लामा जेठ ५ गतेसम्म निषेधाज्ञा जारी गर्न निर्देशन

२०७८, २२ बैशाख बुधबारमा प्रकाशित

काठमाडौँ- गृह मन्त्रालयले ७७ जिल्लामध्ये ४६ जिल्लामा आउँदो जेठ ५ गतेसम्मलाई निषेधाज्ञा जारी गर्न निर्देशन दिएको छ । तीमध्ये ३५ जिल्लामा पूर्ण र ११ जिल्लामा जोखिम क्षेत्र निर्धारण गरी निषेधाज्ञा लगाउन निर्देशन दिइएको हो ।

गृह प्रवक्ता जनकराज दाहालका अनुसार काठमाडौँ उपत्यका तथा तराईका जिल्लाहरूमा पाँच सय र पहाडी जिल्लाहरूमा दुई सय जना सङ्क्रमित भेटिएमा निषेधाज्ञा जारी गर्ने कोभिड–१९ सङ्क्रमण व्यवस्थापन केन्द्र (सीसीएमसी) को निर्णय नै हो ।

काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा वैशाख २९ गतेसम्मका लागि थप गरिएको छ । यसअघि जारी भएर सवारी पास पनि खारेज गरी निषेधाज्ञा कडा पारिएको छ । काठमाडौँ जिल्ला प्रशासन कार्यालयले कोरोना सङ्क्रमण महामारी रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका लागि यही वैशाख १६ गते राति १२ बजेदेखि २२ गते राति १२ बजेसम्म हप्ता दिनका लागि निषेधाज्ञा जारी गरेको थियो ।

उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको ‘भर्चुअल’ बैठकले निषेधाज्ञा आदेशको पूर्णपालना गर्नु र गराउनु व्यक्ति, सङ्घ–संस्था, पेसाकर्मी, अधिकारकर्मी, उद्योगी व्यवसायी र आमनागरिकको कर्तव्य हुनेछ भन्दै निषेधाज्ञा उल्लङ्घन गर्नेलाई कारबाहीको चेतावनी दिएको छ । त्यसैगरी अत्यावश्यक खाद्यसामग्री खरिदका लागि बिहान ९ बजेसम्म र ढुवानीसँग सम्बन्धित सवारी १० बजेसम्मलाई तोकिएको छ । निर्माण सामग्री ढुवानीका सवारी साधनलाई राति १० बजेदेखि भोलि बिहान ४ बजेको समय निर्धारण गरिएको छ ।

खाद्यान्न, तरकारी र औषधिलगायतका वस्तु खरिद गर्न पनि दुई जनाभन्दा बढी व्यक्ति सहभागी नहुन र त्यसमा पनि कम्तीमा दुई मिटरको दूरी कायम राख्न निर्देशन दिइएको छ । मास्कको अनिवार्य प्रयोग, सेनिटाइजर र सरसफाइमा विशेष जोड दिइएको छ । त्यस्तै सभा–सम्मेलन, जमघट हुने सबै कार्य बन्द गरी विवाह र व्रतबन्ध कार्यका लागि स्वास्थ्य सुरक्षा पालना गर्ने सर्तमा १५ जना सहभागी हुन सक्ने छन् । त्यसका लागि सम्बन्धित निकायको स्वीकृति अनिवार्य गरिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताउनुभयो ।

विभिन्न धार्मिक मठ–मन्दिरमा नित्य पूजाबाहेक अन्य धार्मिक कार्य निषेध गरी पूजापाठ, मन्दिरमा धर्मकर्म गर्ने नाममा कोही कसैलाई घर बाहिर ननिस्कन आग्रह गरिएको छ । अत्यावश्यक ढुवानीका सवारीमा दुई जनाबाहेक अन्यलाई यात्रामा रोक लगाइएको छ ।

काठमाडौँ उपत्यका प्रवेशमा अत्यावश्यकलगायत एम्बुलेन्स, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीका सवारी साधनबाहेक अन्यलाई निषेध गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ । सरकारी तथा गैरसरकारी कार्यालय र बैङ्क तथा वित्तीय संस्थालाई एक चौथाइ कर्मचारी मात्र परिचालन गर्न परिपत्र गरिएको छ ।

काठमाडौँ उपत्यकामा बैङ्क तथा वित्तीय संस्थाका २५ प्रतिशत शाखा मात्र खुल्ने छन् । सोका लागि २० प्रतिशत जनशक्ति खटाउन आग्रह गरिएको छ । यसको सम्पूर्ण विवरण नेपाल राष्ट्र बैङ्क र जिल्ला प्रशासन कार्यालयलाई उपलब्ध गराउनुपर्ने छ ।

बिरामी कुरुवाका रूपमा अस्पताल आउने–जाने, मृत्यु संस्कारमा जानेहरूका लागि सवारी पास तथा यातायातमा सहजीकरण गरिएको छ । सञ्चारकर्मीहरूका लागि सूचना विभागबाट जारी प्रेस पास वा सम्बन्धित कार्यालयबाट जारी पास भए हुने प्रजिअ पराजुलीले बताउनुभयो ।

उपत्यका बाहिर जानका लागि सम्बन्धित पालिका वा वडा कार्यालयबाट अनिवार्य १० दिन क्वारेन्टाइनमा राख्ने प्रतिबद्धतासहितको सिफारिस भए पुग्नेछ । ठेला वा फुटपाथमा हुने तरकारी तथा फलफूलको व्यापार बन्द गरिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu