छ जिल्लामा बन्दको प्रभाव : कतै बिस्फोट, कतै आगजनी
काठमाडौं । विप्लव समूहले आफ्नो पार्टीका काठमाडौं उपत्यका इञ्चार्ज माइला लामालाई प्रहरीले पक्राउ गरेको विरोधमा बुधबार बागमती, नारायणी र जनकपुरका ११ जिल्ला बन्द आह्वान गरेको छ ।
सरकार र विप्लव समूहबीच वार्ता जारी रहेको भनिएकै बेला प्रहरीले लामालाई पक्राउ गरेपछि विप्लव समूह फेरि आक्रामक बनेको हो । विप्लव समूहको बन्दको प्रभाव खासगरि झापा, नुवाकोट, मकवानपुर, काभ्रे र रौतहट लगायतका जिल्लामा देखिएको छ ।
मकवानपुरमा दुई गाडीमाथि आगजनी, शंकास्पद वस्तु फेला
बन्दको अवज्ञा गरेको भन्दै विप्लव समूहले मकवानपुरका दुई स्थानमा दुईवटा गाडीमाथि आगजनी गरेको छ ।
मंगलबार राति मकवानपुरको उत्तरी क्षेत्रमा फाखेलको हुमानेमा बा १४ च ८२३४ नम्बरको कार विप्लव समूहले जलाएको प्रहरीले जनाएको छ । यसैगरी मकवानपुरको मनहरी ज्यामिरे खरंङ्गामा बा ५ ख १७ ३९ नम्बरको ट्रकमा पनि आगजनी भएको जिल्ला प्रहरी कार्यालय मकवापनुरका प्रहरी उपरिक्षक मुकेश कुमारसिंहले सिंहले बताउनुभयो ।
यस्तै बन्दमा आतंक फैलाउने उद्देश्यले हेटौंडा उपमहानगरको विभिन्न ४ स्थानमा शंकास्पद वस्तु फेला परेको छ । बमको आशंकामा सेनाको टोलीले शंकास्पद वस्तुहरु डिस्पोज गरिदिएको हो ।
विप्लव नेतृत्वको नेकपाले बुधबार बन्दको जानकारी दिनको लागि हेटौँडाको थानाभर्याङ, चौकिटोल र हुप्राचौर क्वीक २० नजिकै शंकास्पद वस्तुहरु राखेको हुनसक्ने प्रहरीले जनाएको छ ।
रौतहटमा वडा कार्यालयमा आगजनी
जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर ३ को वडा कार्यालयमा आगजनी गरिएको छ । आगजनीबाट वडा कार्यालयमा रहेका कागजात, फर्निचर लगायतका सामग्री जलेका छन् ।
आगजनी गर्ने समूहको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । थप विवरण आउन बाँकी छ ।
नुवाकोटमा बम विस्फोट
नुवाकोटको एक वडा कार्यालयमा अज्ञात समूहले बम विस्फोट गराएको छ।
नुवाकोटको ककनी गाउँपालिका–१ को वडा कार्यालयमा गएराति बम विस्फोट गराइएको हो । विस्फोटबाट वडा कार्यालयका महत्त्वपूर्ण उपकरण तथा कागजपत्र जलेको ककनी गाउँपालिकाकी उपाध्यक्ष सीता खतिवडा लामाले जानकारी दिनुभयो ।
काभ्रेमा मध्यराती बम विस्फोट
काभ्रेको बनेपामा मंगलबार राती बम विस्फोट भएको छ । बनेपा नगरपालिकास्थित बनेपा बजारको उग्रेश्वर महादेव मन्दिर नजिकै बम विस्फोट भएको स्थानीयले बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय काभ्रेले पनि बम विस्फोट भएको पुष्टि गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी जयराज सापकोटाले घटनास्थलमा प्रहरी पठाइएको जानकारी दिनुभयो ।
झापामा एनसेल टावरमाथि आक्रमण
जिल्लाका ३ स्थानमा रहेका एनसेल टावरमाथि अज्ञात समूहले आक्रमण गरेको छ । भद्रपुर र कमल गाउँपालिकामा रहेका एनसेल टावरमा आगजनी गरिएको छ भने दमकमा रहेको एनसेल टावरमा बम बिष्फोट गराइएको छ । विप्लव समूहले टावरमा आक्रमण गरेको प्रहरीको अनुमान गरेको छ ।
वडा कार्यालयका कागजात नष्ट
अज्ञात समूहले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर १० काे कार्यालयका सम्पूर्ण कागजात जलाएको छ ।मंगलबार राति कार्यालयमा आगजनी गर्दा वडा कार्यालय क्षतिग्रस्त भएको हो ।
कार्यालयको ढोकाको ताल्चा काटेर सम्पूर्ण कागजात जम्मा गरी जलाइएको वडाध्यक्ष भक्तबहादुर खड्काले जानकारी दिनुभयो ।