ओलीको विकल्प खोज्नैपर्छ : शेरबहादुर देउवा
काठमाडौं – प्रमुख प्रतिपक्षी कांग्रेस प्रधानमन्त्रीलाई विश्वासको मतमा असफल गराएर आफ्नो नेतृत्वको बहुमतको सरकार बनाउने निर्णायक जोडघटाउमा जुटेको छ । प्रधानमन्त्रीको विश्वासको मतको प्रस्तावका विषयमा धारणा तयार गर्न शनिबार बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मतमा असफल गराउने र आफ्नो नेतृत्वमा वैकल्पिक सरकार बनाउने निर्णय गरेको छ ।
प्रधानमन्त्री ओलीले विश्वासको मत लिने गरी सोमबार संसद्को विशेष अधिवेशन आह्वान भएको छ । त्यसको पूर्वसन्ध्यामा बसेको कांग्रेस संसदीय दलको बैठकले प्रधानमन्त्रीले विश्वासको मत लिने प्रस्ताव गरिसकेको अवस्थामा अविश्वासको प्रस्ताव लैजानुभन्दा प्रधानमन्त्रीलाई विश्वासको मतमा असफल गराएर बहुमतको सरकार बनाउने कसरत गर्नुपर्ने निष्कर्ष निकालेको हो ।
ओलीको विकल्प खोज्ने विषयमा कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)का बीच निरन्तर संवाद हुँदै आएको छ । शनिबारको बैठकमा सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री ओली आफू विश्वासको मत पनि नलिने र वैकल्पिक सरकार पनि बन्न नदिएर पुनः संसद् विघटन गर्ने दाउमा रहेको बिफ्रिङ गर्नु भएको छ ।
‘ओलीले पुनः संसद् विघटन गरेर चुनावको घोषणा गर्न चाहनु भएको छ तर अहिले एकपछि अर्को असंवैधानिक कदम चालिरहेको ओलीले चुनाव गराउँनुहुन्न । ओलीले गराएको चुनावमा भाग लिन सकिँदैन, त्यसैले ओलीलाई हटाउन हरसम्भव प्रयास भइरहेको छ,’ देउवालाई उदृत गर्दै एक सांसदले भन्नु भयो ।
प्रधानमन्त्री ओलीविरुद्ध बैठकको सुरुवातमै आक्रोशित भएर प्रस्तुत देउवाले सांसदहरूलाई २७ वैशाखमा संसद्को विशेष अधिवेशनमा विश्वासको मतको विपक्षमा मतदान गर्न निर्देशन दिनु भएको थियो । ‘विश्वासको मतमा प्रधानमन्त्रीलाई असफल बनाउने हो, अहिले ओलीको विकल्प खोज्नैपर्ने अवस्था भएको छ, भएसम्म आफ्नै नेतृत्वमा सरकार बनाउने हो, पार्टीको निर्णय पनि त्यही छ,’ देउवाले भन्नु भएको छ , ।’ नयाँ पत्रिका