एमाले विवाद :जेठ २ मा फर्किन ओली सहमत,कार्यदल बनाउने जिम्मा ओली र नेपाललाई
काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जेठ २-माओवादी केन्द्रसँग पार्टी एकता गर्नुअघिको अवस्था) मा फर्किन सहमत हुनु भएको छ ।बिहीबार भएको वार्ता सकारात्मक भएपछि अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपाल आ–आफ्नो पक्ष नेताहरुसहित शुक्रबार फेरि वार्तामा बस्नु भएको थियो । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको वार्तामा अध्यक्ष ओली, नेपाल समूहको मागअनुसार जेठ २ मा फर्किन सहमत भएको एक सहभागीले बताउनु भयो ।
जेठ २ मा फर्किएर समस्याको समाधान खोज्ने र त्यसका लागि कार्यदल बनाउने सहमतिमा उल्लेख छ । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमाले नेता भीम रावलले दुई नेता बसेर कार्यदलका सदस्यहरु टुंगो लगाउने जानकारी दिनु भयो ।
एमालेको दुई पक्षका नेताहरुबीच भएको सहमतिको खेस्रो अनलाइनखबरले प्राप्त गरेको छ, जसमा नेताहरुको हस्ताक्षर भने छैन । कार्यदलले गर्ने कामको सहमति भएकाले हस्ताक्षर नगरिएको बैठकमा सहभागी एक नेताले बताउनु भयो ।
आजको छलफलमा पार्टीको वर्तमान अवस्थाबारे गम्भिरताका साथ छलफल भयो । पार्टीलाई एकतावद्ध बनाएर लैजान नेकपा (एमाले)लाई ०७५ जेठ २ मा फर्केर समस्याको समाधान गर्ने सहमति भयो । समस्याको समाधान खोज्न दुबै नेताले एक कार्यदल बनाउने निर्णय भयो उहाँले भन्नु भयो ।
नेताहरुका अनुसार अब बन्ने कार्यदलले माओवादी केन्द्रबाट आएका नेताहरुदेखि २ जेठमा फर्किँदा कायम हुने एमालेको संरचना र त्यसको नेतृत्वबारे निर्णय गर्नेछ ।
नेपाल समूहले एमाले ब्युँताउने सर्वोच्च अदालतको २३ फागुनको फैसलाअनुसार २ जेठ २०७५ अगाडिकै एमाले पार्टी संरचना, विधान र नेतृत्व कायम हुनुपर्ने अडान लिँदै आएको थियो ।
तर ५ पुसमा संसद विघटन गरेपछि साविकको नेकपामा आफूलाई साथ दिएका माओवादी तर्फका नेताहरुलाई छुट्टै संरचना बनाएका ओली त्यसलाई भत्काउन चाहँनुहुन्न । नेपाल समूहका नेताहरुलाई कारबाही गरेका ओलीले गएको १० वैशाखमा मात्रै माओवादी छोडेका नेताहरुलाई समेट्दै नेपाल समूहविहीन स्थायी कमिटी गठन गर्नु भएको थियो ।
बिहीबार मात्र चार नेताको निलम्बन फिर्ता लिएका एमाले अध्यक्ष ओली २ जेठमा फर्किँदा ५ पुसयता आफूले बनाएका सबै कमिटी विघटन गर्र्न तयार हुनुपर्छ । माधव नेपाल समूहले पनि ४–५ चैतमा राष्ट्रिय कार्यकर्ता भेला गरेर जनसंगठनदेखि भूगोलमा समेत समानान्तर संगठन बनेको छ । २ जेठमा फर्किँदा यो पनि खारेज हुन्छ ।
नेताहरूका अनुसार यसबारे विस्तृतमा कार्यदलले गृहकार्य गर्नेछ । यदि तलका कमिटीहरू ब्युँताउन अध्यक्ष ओली तयार भए माथिल्ला कमिटीमा माओवादी केन्द्रबाट आएका नेताहरुलाई समेटेर अगाडि जान सकिने नेपाल समूहका नेताहरुले बताउनु भएको छ ।
शुक्रबार साँझ सिंहदरबारमा भएको दुई घण्टा लामो छलफलमा कार्यदलको नाम सिफारिस गर्ने जिम्मा ओली र नेपाललाई दिइएको हो । वार्तामा ओली पक्षबाट ईश्वर पोखरेल, रामबहादुर थापा विष्णु पौडेल, विष्णु रिमाल हुनुन्थ्यो । नेपालपक्षबाट नेता नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघुजी पन्त वार्तामा बस्नु भएको थियो ।