सडकमा भिडभाडजन्य गतिविधि गर्न नदिन गृहको निर्देशन
काठमाडौँ- सरकारले निषेधाज्ञा उल्लंघन गरेर मानिसलाई कुनै पनि हालतमा सडकमा निस्कन नदिन सुरक्षा निकाय र स्थानीय प्रशासनहरुलाई निर्देशन दिएको छ । गृह सचिव महेश्वर न्यौपानेले नेपाल प्रहरी,सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरुलाई डाकेर निषेधाज्ञाका बेला भिडभाडजन्य गतिविधि गर्न नदिन निर्देशन दिनु भएको छ ।
सरकारी आदेश उल्लंघन गरेर सडकमा निस्किए कानुन अनुसार कारबाही गर्न समेत गृहले निर्देशन दिएको छ ।प्रतिनिधिसभाको विघटनपछि उत्पन्न राजनीतिक जटिलतासँगै सडक आन्दोलन हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै गृह मन्त्रालयले निषेधाज्ञा उल्लंघन रोक्नलाई निर्देशन दिएको हो ।
गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले सुरक्षा निकायका प्रमुखहरुसहितको बैठकमा देशभरको निषेधाज्ञा र कोभिड संक्रमणविरुद्ध चालिएका कदमबारे समिक्षा भएको र यसलाई अझ सशक्त बनाउने बारे थप निर्देशन दिइएको बताउनु भयो ।
बैठकपछि गृह मन्त्रालयले ७७ वटै प्रमुख जिल्ला अधिकारी र तीनवटै सुरक्षा निकायलाई परिपत्र गरी कुनै पनि हालतमा भिडभाडजन्य गतिविधि रोक्न निर्देशन दिएको हो ।
गएराति मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरी कात्तिक २६ र मंसिर ३ गते निर्वाचन मिति घोषणा गरेपछि प्रमुख प्रतिपक्ष कांग्रेससहितका ४ दल र सत्तारुढ एमालेको माधव नेपाल समूहले प्रतिगमनविरुद्ध आन्दोलन गर्ने घोषणा भइसकेको छ
। त्यसलगत्तै गृहसचिव न्यौपानेले प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्री,सशस्त्र प्रहरी महानिरीक्षक सैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी तथा काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुलीसहितको आकस्मिक सुरक्षा बैठक डाक्नु भएको थियो ।प्रतिपक्ष दलहरुको आन्दोलन गर्ने घोषणा लगत्तै गृहमा सम्भावित राजनीतिक विरोधका कार्यक्रममाथि समिक्षा भएको थियो ।