पौडेल र महासेठ पनि उपप्रधानमन्त्री बन्दै
काठमाडौँ — उपप्रधानमन्त्रीमा जसपाका राजेन्द्र महतोसँगै अर्थमन्त्रीसमेत रहेका विष्णु पौडेल र अर्का एमाले नेता रघुवीर महासेठलाई पनि उपप्रधानमन्त्री बनाउने तयारी भएको प्रधानमन्त्री केपी शर्मा ओलीनिकट स्रोतले बताएको छ ।
जसपा नेता महतो उपप्रधानमन्त्री भएपछि मधेसमा आफ्नो पार्टीलाई बलियो बनाउनका लागि महासेठलाई उपप्रधानमन्त्री बनाउन लागिएको स्रोतको दावी छ । यसअघि ओली मन्त्रीपरिषद्मा महासेठ पत्नी जुली महतो मन्त्री थिइन् । स्थायी कमिटी सदस्य महासेठलाई उपप्रधानमन्त्री बनाउने भएपछि पार्टी उपमहासचिव अर्थमन्त्री विष्णु पौडेललाई पनि उपप्रधानमन्त्री बनाउने तयारी रहेको स्रोतको भनाई छ ।
‘विष्णु पौडेल र रघूवीर महासेठ उपप्रधानमन्त्री बन्दै हुनुहुन्छ । बाँकी मन्त्रीहरू पनि फेरिन सक्ने सम्भावना रहेको छ,’ प्रधानमन्त्री निकट स्रोतले भन्यो । परराष्ट्रमन्त्रीबाट प्रदीप ज्ञवालीलाई विदाई गरेर महासेठलाई उक्त जिम्मेवारी दिन लागिएको बताइएको छ ।
त्यस्तै, स्वास्थ्य तथा जनसंख्यामन्त्रालयको जिम्मेवारी शेरबहादुर तामाङलाई दिन लागिएको छ । तामाङले आफूलाई उक्त जिम्मेवारी दिनेबारे प्रधानमन्त्री ओलीले जानकारी दिएको बताए । उनले भने, ‘अहिलेको विषम् परिस्थितिमा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी तपाईं लिनुस् भन्नुभएको छ र म स्वास्थ्य मन्त्रीको जिम्मेवारीमा जाँदैछु । ‘त्यस्तै, केही मन्त्रीहरू पनि हेरफेर गरिन लागेको बालुवाटार स्रोतले जानकारी दिएको छ ।