Connect with us
Kapilvast Forest

पूर्वमा चिया र कफी बजारको जोखिम कायमै

२०७८, २८ जेष्ठ शुक्रबारमा प्रकाशित

 

इलाम- बढ्दो कोरोना सङ्क्रमणपछि जारी निषेधाज्ञासँगै बन्द भएका इलामका चिया उद्योग सञ्चालनमा आएका छन् । सूर्योदय टी एसोसिएसनले आफूसँग आबद्ध उद्योग सञ्चालनमा आएको जनाएको छ ।
निषेधाज्ञा र चिया बाँझी (नपलाउने) समय सुरु भएपछि बन्द भएका उद्योग सञ्चालन गरिएको एसोसिएसनका सचिव गोपाल कट्टेलले जानकारी दिनुभयो । उहाँका अनुसार एसोसिएसनमा आबद्ध ६२ उद्योग सञ्चालन भएका छन् ।

सञ्चालनमा आएका उद्योगलाई सूर्योदय नगरपालिकाले तयार गरेको २१ बुँदे आचारसंहितासमेत तयार गरेको छ । हरेक श्रमिकले तीन मिटरको दूरी अर्थात् चियाका चार बुट्टाको फरकमा रहेर पत्ती टिप्नुपर्ने, श्रमिक आफैँले आफ्नो खाना र खाजाको व्यवस्था र प्रयोग गर्नुपर्ने, अनिवार्य मास्क प्रयोग गर्नुपर्ने, प्रत्येक घण्टामा साबुन पानीले हात धुनुपर्ने, चिया श्रमिकलाई सवारी साधनमा ओसारपसार नगर्ने, कोरोना सङ्क्रमणका कारण चिया क्षेत्रमा संलग्न श्रमिकलाई अस्पताल भर्ना गर्नुपरे नगरपालिकाले सहजीकरण गर्नेलगायतका बुँदा आचारसंहितामा उल्लेख छ ।

यता चिया टिपाइ र प्रशोधन तथा निकासीको मुख्य सिजनमा निषेधाज्ञाको असर परेपछि किसान र उद्योगी भने आर्थिक कठिनाइ भोग्न बाध्य छन् । तयारी चिया निकासीको मुख्य समयमा बजार बन्द हुँदा तयारी चिया गोदाममै थन्किएको छ । ७५ प्रतिशत उद्योगले किसानको रकम भुक्तानी गर्न बाँकी रहेको एसोसिएसनका सचिव कट्टेल बताउनुहुन्छ । “२५ प्रतिशतजतिले किसानको रकम भुक्तानी गरे, बाँकीले गर्नै सकेको अवस्था छैन,” कट्टेलले भन्नुभयो, “अब बजार सहज होला भन्ने अपेक्षा छ । निकासी हुन थालेपछि त क्रमशः किसानको बाँकी रकम पनि आउँछ । ”
उद्योगहरू सञ्चालनमा आए पनि चियाको बजार भने जोखिममै रहेको उद्योगी बताउँछन् । कट्टेलका अनुसार पहिलो बाली (फस्र्टफ्लस)को पत्ती गुणस्तरीय मानिने पहिलो सिजनकै तयारी चियाको मूल्य ज्यादै कम रहेको छ ।

न्यूनतम ४० रुपियाँ प्रतिकिलोदेखि अधिकतम १५० रुपियाँ प्रतिकिलो हरियो पत्ती खरिद गरेका उद्योगहरूले खरिदको ५० प्रतिशत कममा चिया निकासी गर्नुपर्ने बाध्यता रहेको उद्योगीको भनाइ छ ।

अहिले उद्योगहरूले तयार गरेको पहिलो सिजनको दुई लाख किलो चिया निकासी गर्नै बाँकी रहेको जनाएका छन् । नेपाली अर्थोडक्स चियाको मुख्य निकासी स्थान भारतको कोलकाता हो । त्यसबाहेक अर्गानिक चिया तेस्रो मुलुक पनि जाने गरेको छ । “भारत निकासी हुने करिब चार करोड रुपियाँको चिया उद्योगहरूमै छ । यो चिया निकासी गर्दा पनि उताका व्यापारीले हामीलाई रकम पठाउन करिब २२ दिनभन्दा बढी लगाउँछन् । अनि मात्र किसानको रकम दिन सकिन्छ,” कट्टेल भन्नुहुन्छ ।

यता बिक्री भएको चियाको रकम नपाउँदा र उत्पादित अन्य तरकारी जन्य सामग्री पनि बिक्री नहुँदा खर्च चलाउनै मुस्किल रहेको साना किसानले बताएका छन् । “बढ्दो महँगीले किसान भोकै बस्ने अवस्था आएको छ । खानेतेल, चिनी, चामलको मूल्य सुन्दा अत्तालिने अवस्था छ,” सूर्योदयकै किसान भीम राईले भन्नुभयो, “दैनिक उपभोग्य सामग्री पनि उधारोमा खानुपर्दा हामीजस्ता किसानले महँगीको दोब्बर चपेटामा छौँ । ”

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu