Connect with us
Kapilvast Forest

बिहे भोज खाएका ३५ जनामा कोरोना

२०७८, ९ असार बुधबारमा प्रकाशित

 

बागलुङ — दुई साताअघि बागलुङ नगरपालिका–३ खोलाखेत टोलमा विवाह भोजमा सहभागी ३५ जनामा मंगलबार कोरोना संक्रमण पुष्टि भएको छ ।भोज खाएको केही दिनपछि कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि नगरपालिकाले ५० जनाको पीसीआर परीक्षण गराएको थियो । नगर स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले अधिकांश लक्षणसहितका संक्रमित भएको बताउनुभयो ।

 

‘निषेधाज्ञाको समयमा पनि धुमधामले भोज लगाएका रहेछन्,’ उहाँले भन्नुभयो ‘सदरमुकाम नजिकै भएकाले बजारवासीसमेत त्रसित छन् ।’ खोला खेतवासीले भने विवाहमा आफ्नै परिवार र टोलवासी मात्रै रहेको दाबी गरेका छन् । संक्रमण कसरी फैलियो भन्नेमा उनीहरूसमेत अन्योलमा छन् ।

टोलभरि नै संक्रमण देखिएपछि प्रशासन र नगरपालिकाले उक्त क्षेत्रलाई सिल गर्ने तयारी गरेको वडाध्यक्ष लक्ष्मी बाँस्कोटाले बताउनुभयो । ‘संक्रमितलाई बाहिर जान आउन नदिने, बरु अत्यावश्यक सेवा वडाले पठाउने गरी काम हुँदै छ,’ उहाँले भन्नुभयो ‘सिंगो बजारलाई जोखिम हुने गरी आउजाउ गर्न दिइने छैन ।’ संक्रमित सबैलाई होम आइसोलेसनमा राखिनेछ ।

यसअघि गत जेठ पहिलो साता बागलुङकै बडिगाड गाउँपालिकामा विवाहको भोज खाँदा वडा नम्बर ४ मा एकै परिवारका ४ जनासहित ७ को मृत्यु भएको थियो ।