हुम्लाको हिल्सा वासिन्दाले लगाए कोरोना बिरुद्धको खोप
हुम्ला- चीनसँगको सिमाना जोडिएको हुम्लाको हिल्साका वासिन्दाहरुले निक्कै प्रयास पछि कोरोना बिरुद्धको पहिलो डोजको खोप लगाउन पाउनु भएको छ । लगातारको वर्षापछि मौसममा आएको सुधारले नारा लेकबाट स्वास्थ्यकर्मीको टोली हिल्सा पुगेपछि खोप लगाउन पाउनु भएको हो ।
हिल्साका बासिन्दा छिरिङ आङ्जु लामाले कोरोना बिरुद्धको पहिलो डोज लगाउन पाएको बताउनुभयो । खोप लगाउने प्रतिक्षा रहेका बेला नाम्खा गाउँपालिकाबाट स्वास्थ्यकर्मीको टोली आएपछि त्यो संभव भएको उहाँले बताउनुभयो । हाल हिल्सामा बसोवास गर्दै आएका १८ जना स्थानीय र सीमा सुरक्षा चौकी ( बिओपीका ) हिल्साका सुरक्षाकर्मीले कोरोना बिरुद्धको खोप लगाउन पाएको उहाँले बताउनुभयो ।
हिल्साका बासिन्दाहरुले नारा लेकको हिउ छिचोलेर स्वास्थ्यकर्मीको टोली खोप लगाउन हिल्सा पुग्दा निक्कै खुसी मनाउनु भएको थियो । सुरक्षाकर्मी प्राथमिकतमा परेका र चीनको अनुदान सहयोग प्राप्त भएको भेरोसेल खोपले सिमा जोडिएका नागरिकले पनि खोप लगाउन पाउने प्राब्धान अनुसार हिल्सामै खोप लगाउन संभब भएको हो ।
उहाँले यति चाँडै खोप लगाउन पाईएला भन्ने नसोचेको भएपनि स्वास्थ्यकर्मीको हिल्सासम्म आउने आँटले त्यो सफल भएको बताउनुभयो । हिल्सा पुग्न नाम्खा गाउँपालिकाको चार हजार छ सय मिटर अग्लो नारा खेल पास गरेर स्वास्थ्यकर्मी पुग्नु भएको हो । सशस्त्र प्रहरी नायव उपरिक्षक नेहेन्द्र भण्डारीले हिल्सामा चौकीमा खटिएका सुरक्षाकर्मी मध्य आठ जनाले सिमकोट आएर खोप लगाएकोे बताउनुभयो ।
१५ जना सुरक्षाकर्मीले भने हिल्सा मै खोप लगाउनु भएको थियो । हिल्सामा ३३ जनाले खोप लगाउनु भएको छ । उहाँले अब कोरोना बिरुद्धको पहिलो चरणको खोप सीमा सुरक्षा चौकीमा खटिएका सबै सुरक्षाकर्मीले लगाउन पाएको बताउनुभयो । पहिलो चरणको खोप लगाउन पाएको र अब तोकिएकै मितिमा दोस्रो चरणको खोप लगाउन पाईयोस भन्ने हिल्साबासीको माग रहेको छ ।