कोशी र नारायणी नदीको तटीय क्षेत्रमा बाढीको उच्च जोखिम
काठमाडौं- आज कोशी र नारायणीका केही सहायक नदी तथा पूर्वी राप्ती, कमला, बागमती र कनकाई जलाधारका केही सहायक नदीहरुमा पानीको बहाव बढ्ने भएकाले तटीय क्षेत्रमा उच्च जोखिम रहेकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार तमोर‚ भोटेकोशी‚ सुनकोशीलगायत कोशीका सहायक नदीहरुको बहाव बढ्ने छ। यस्तै‚ नारयणी नदीका सहायक नदीहरु त्रिशूली‚ बुढीगण्डकी‚ कालीगण्डकी‚ मर्स्याङ्दीलगायतमा पनि पानीको बहाव बढ्ने भएकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
आजदेखि मनसुन थप सक्रिय हुने‚ पाँच प्रदेशमा भीषण वर्षाको सम्भावना
आज प्रदेश १ का इलाम‚ झापा‚ मोरङ‚ सुनसरी‚ पाँचथर‚ उदयपुर‚ धनकुटा‚ भोजपुर‚ तेह्रथुम‚ ओखलढुंगा र ताप्लेजुङ भई बग्ने नदी तथा खोलाहरुमा बाढीको उच्च जोखिम छ। प्रदेश २ का बारा‚ पर्सा‚ रौतहट‚ सर्लाही‚ महोत्तरी‚ धनुषा‚ सिरहा र सप्तरी भई बग्ने नदी तथा खोलाको पानीको बहाव बढ्ने भएकाले त्यस क्षेत्रको तटीय क्षेत्र उच्च जोखिममा रहेको छ।
यस्तै‚ बागमती प्रदेशका काठमाडौं‚ धादिङ‚ मकवानपुर‚ चितवन‚ सिन्धुली र रसुवामा पनि बाढीको उच्च जोखम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। गण्डकी प्रदेशका गोरखा‚ लमजुश्र‚ तनहुँ‚ स्याङ्जा‚ पर्वत‚ कास्की र बागलुङ भई बग्ने नदी तथा खोलामा पानीको बहाव बढ्ने भएकाले तटीय क्षेत्रमा उच्च जोखिम रहेको छ। त्यसैले तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।