एमाले कार्यदलको बैठक सुरु
काठमाडौं-नेकपा एमालेभित्रको विवाद समाधान गर्नका लागि गठन भएको कार्यदलको बैठक सुरु भएको छ । केही दिनयता कार्यदलको बैठक लगातार बस्दै आएको छ ।
विहीबार साँझ माधव नेपाल पक्षका नेताहरु आक्रोशित बनेपछि आज अध्यक्ष केपी शर्मा ओली पक्ष केही नरम रुपमा प्रस्तुत भएको छ । शुक्रबार बिहानैदेखि दुई पक्षका कार्यदल सदस्यहरुबीच अनौपचारिक छलफलमा जुटेका थिए ।
‘आज उहाँहरु केही नरमरुपमा प्रस्तुत हुनुभएको छ, सहमतिमा आउने सम्भावना पनि देखिएको छ,’ माधव नेपाल पक्षका एकजना कार्यदल सदस्यले ‘ फागुन २३ यता उहाँहरुले गरेका एकलौटी निर्णयहरु सबै खारेज हुनुपर्छ भन्ने हाम्रो प्रस्ताव हो, हस्ताक्षर फिर्ताको त च्याप्टर नै क्लोज भइसक्यो ।’
आज बस्ने कार्यदलको बैठकमा सहमति जुटेपछि फेरि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच होटल मेरियटमा भेट वार्ता हुने र दुई नेताबाट संयुक्त वक्तव्य जारी हुन सक्ने एक नेताले बताउनुभयो ।
एमालेभित्रको विवाद मिलाउन दुई पक्षबाट ५–५ जना सदस्य रहेको १० सदस्यीय कार्यदलले केही दिनयता सिंहदरबारस्थित अर्थमन्त्रालयमा वार्ता गर्दै आइरहेको छ । १० दिनयता विभिन्न छलफल र वार्ताहरु भए पनि निश्कर्ष निस्कन सकेको छैन ।
विहीबार साँझको छलफलपछि माधव पक्षका नेताहरुले वार्ताबाट कुनै प्रगति नभएको, ओली पक्षले ठोस प्रस्ताव नल्याएको र अदालतको मुद्दालाई प्रभावित बनाउन र अल्मल्याउन मात्रै खोजेको आरोप ओली पक्षमाथि लगाएको थियो ।