गुल्मीमा होम आइसोलेशनमा रहेका एकजना संक्रमितको मृत्यु
तम्घास-गुल्मीमा होम आइसोलेशनमा बस्नुभएको एकजना संक्रमितको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर सातका ८८ बर्षीय एक वृद्धको सोमबार बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । साउन ५ गते उहाँको पिसीआर पोजेटिभ आएको थियो ।
उहाँको शवलाई स्थानीयहरुले परम्परा अनुसार नै दाहसंस्कार गरेको कार्यालयले जनाएको छ । योसँगै जिल्लामा दोस्रो लहरको संक्रमणका कारण मृत्यु हुनेको संख्या ९२ पुगेको स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिनुभयो ।
जिल्लामा अहिले सक्रिय संक्रमितको सख्या ३७५ जना रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । यता जिल्लामा साउन २० गतेसम्म जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा लगाएको छ ।