महन्थ ठाकुरलाई भीष्म पितामहको दर्जा कायम गरिदिनुहुनुहोला : रेशम चौधरी
काठमाडौं – जनता समाजवादी पार्टीको आधिकारिकता विवादमा रेशम चौधरी तटस्थ बस्नुभएको छ ।डिल्लीबजार कारागारबाट निर्वाचन आयोग पुगेका उहाँले आधिकारिकता विवाद समाधानका लागि गरिएको सनाखतमा तटस्थ बस्नुभएको हो ।
जसपा आधिकारिता विवादमा निर्वाचन आयोगले बहुमत पक्ष छुट्याउन ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिका सदस्यलाई सोमबार बोलाएको थियो ।
सोमबार डिल्लीबजार कारागारबाट प्रहरीको गाडीमा राखेर निर्वाचन आयोग लगिएका चौधरीले आफूले जसपा विवादमा दुबै पक्षमा मत नदिएको जिकिर गर्नु भयो ।‘जेलबाट आएर एउटा पक्षमा हस्ताक्षर गर्न मेरो नैतिकताले दिएन । मेरो पक्ष पनि जसपा हो, विपक्ष पनि जसपा हो’ उहााले निर्वाचन कार्यालयबाहिर भन्नुभयो ।
चौधरीले पार्टीको आधिकारिकता जसले पाए पनि अध्यक्ष महन्थ ठाकुरलाई भीष्म पितामहको दर्जा दिन आग्रह गर्नु भयो ।उहाँले महाभारतको प्रसंग कोट्याउँदै युधिष्ठिर र अर्जुनले युद्ध जित्ने थाहा पाउँदापाउँदै भीष्म पितामहले दुर्योधनलाई साथ दिएको बताउनुभयो । जसपा विवादमा कुनै पक्षले जित्ला, तर उहाँलाई भीष्म पितामहको दर्जा कायम गरिदिनुहुन अनुरोध गर्दछु’ चौधरीले भन्नुभयो ।