कार्यवाहक प्रधानमन्त्री पोखरेललाई स्कुल विभागको जिम्मेवारी
काठमाडौं । कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्कुल विभाग प्रमुखको जिम्मेवारी लिनुभएको छ ।ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा शनिबार बिशेष कार्यक्रम गरी पोखरेललाई स्कुल विभाग प्रमुखको जिम्मेवारी हस्तान्तरण गरिएको हो ।
प्रदेश ५ का मुख्यमन्त्री तथा तत्कालिन नेकपा एमालेका स्कुल विभाग प्रमुख शंकर पोखरेलले नेता ईश्वर पोखरेललाई स्कुल विभाग प्रमुखको जिम्मेवारी हस्तान्तरण गर्नुभएको हो । स्कुल विभाग प्रमुखको जिम्मेवारी लिएपछि नेता पोखरेलले विचार र संगठनलाई व्यवस्थित र सुदृढ बनाउदै नेतृत्व निर्माणमा अघि बढ्ने प्रतिवद्धता जनाउनुभयो ।
परिवर्तित अवस्थामा हिजोको ढाँचाबाट नेतृत्व निर्माण हुन नसक्ने भन्दै उहाँले नेतृत्व निर्माणमा नयाँ ढंगले अघि बढ्ने बताउनुभयो । सिंगो पार्टी पंक्तिले राजनीतिक कार्यदिशाबारे एउटै बुझाई बुझ्ने र एउटै बोली बोल्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
स्कुल विभागमा धेरैले दाबी गरिरहँदा पोख्रेलले जिम्मेवारी पाउनुभएको हो । उहाँ एकता अघि एमालेका महासचिव हुनुहुन्थ्यो ।