कांग्रेस बैठकमा महाधिवेशनबारे दुईथरी धारणा
काठमाडौँ -कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा महाधिवेशनको मितिबारे नेताहरूबीच परस्परविरोधी धारणा आएका छन् । शुक्रबारको बैठकमा केन्द्रीय सदस्यहरूले बोल्ने क्रममा संस्थापन समूहले आउँदो मंसिरभित्र महाधिवेशन गर्नेतर्फ जोड दिएका छन् । संस्थापनइतर समूहले भने त्यो भन्दा अघि नै महाधिवेशन गर्नुपर्नेमा जोड दिएका छन् ।
संस्थापन पक्षका नेताहरू भदौ २३ मा वडा अधिवेशन गरेपछि महाधिवेशन मंसिरसम्म सम्पन्न गर्ने कार्यतालिका ल्याउन चाहन्छन् । बैठकमा सहभागी एक केन्द्रीय सदस्यकाअनुसार वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष भने भदौ २३ बाट महाधिवेशन प्रक्रिया आरम्भ गरी दसैंअघि नै सम्पन्न गर्नुपर्ने कुरामा जोड दिँदैछ । ती सदस्यले भन्नु भयो , ‘रामचन्द्र दाई र शेखर दाइहरू दसैंअघि नै महाधिवेशन गर्नुपर्ने अडानमा हुनुहुन्छ ।
उहाँडरू वडा अधिवेशन गरेर कार्यतालिका लम्ब्याउन चाहिरहनु भएको छैन । सभापति देउवा पक्षधर भने भदौमा सुरू गरिएको प्रक्रियालाई मंसिरसम्म लम्ब्याउन चाहिरहेको छ ।’यसअघि सार्वजनिक महाधिवेशन कार्यतालिकाअनुसार भदौ १२ गतेदेखि वडा अधिवेशन सुरु भई १९ गते केन्द्रीय महाधिवेशन सम्पन्न गर्नुपर्ने थियो । तर भदौ १२ को मिति गुज्रिसकेको छ ।
क्रियाशील सदस्यसम्बन्धी विवादका कारण कार्यतालिका प्रभावित भएपछि अब के गर्ने भन्नेबारे कांग्रेस केन्द्रीय समितिमा दुई धार देखिएको छ । पौडेल पक्षधरले पार्टीलाई वैधानिक संकटमा पर्न नदिन भदौ २३ अघि नै महाधिवेशन प्रक्रिया थाल्नुपर्ने कुरामा जोड दिइरहेको छ । संस्थापन पक्ष चाहिँ प्रक्रिया आरम्भ गर्ने तर त्यसलाई मंसिरसम्म पुर्याउने सोचमा रहेको छ ।
केन्द्रीय सदस्य शेखर कोइरालाले विशेष महाधिवेशन र मंसिरसम्म महाधिवेशन सार्ने कुरालाई मान्न नसकिने बताउँदै भदौ २३ भित्रै महाधिवेशन थाल्नुपर्नेमा जोड दिनु भएको छ ।पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले केन्द्रीय सदस्यहरूको धारणा सुनिसकेपछि सबैको धारणा समेटेर बैठकमा प्रस्ताव गरिने बताउनु भयो । त्यसपछि मात्र महाधिवेशन कार्यतालिका र निर्वाचन निर्देशिका आउने उहाँले उल्लेख गर्नु भयो ।