जर्मनीमा एक नर्सले खोपलाई ‘सलाइन पानीले साटिदिएपछि
एजेन्सी- जर्मनीमा एक नर्सले कोभिड–१९ खोपलाई ‘सलाइन पानी’ ले साटिदिएको खुलासा भएपछि पुलिस अनुसन्धान सुरु भएको छ । उत्तरपश्चिम जर्मनीस्थित जिल्ला प्रशासक, सभन एम्ब्रोसीका अनुसार उहाँले यस वर्ष मार्च र अप्रिलका बीच कोभिड खोपको सट्टा सलाइन पानीलाई सुइमा राखिदिनु भएको थियो ।
एम्ब्रोसीले भन्नु भएको छ “ मैले दुःखी हुँदै सबैलाई यो खबर दिनुपरिरहेको छ कि यस घटनाबाट झन्डै ८ हजार ६ सय मानिस प्रभावित भएका छन् । उनीहरुले खोप केन्द्रमा सलाइन सल्युसनयुक्त सुइ लगाएका हुन सक्छन् । त्यसैले मनको शान्तिका लागि भएपनि खोप लगाइसकेका सबैलाई हामी पुनः सुइ लगाउन सुझाव दिन्छौँ ।
उक्त खोप केन्द्रमा तिनै नर्सलाई सबै सिरिन्ज व्यवस्थापन गर्ने जिम्मेवारी दिइएकाले पनि उहाँले खोप साट्न सकेको बताइएको छ । अहिले स्थानीय निकायहरुले मार्च ५ देखि अप्रिल २० का बीच रोफहोसन केन्द्रमा कोभिड–१९ को खोप लगाएका सबै मानिसहरुलाई खबर गर्न र अर्को डोज खोप लगाइहाल्न भनेका छन् ।
‘लोअर स्याक्सोनी स्टेट हेल्थ अफिस’ का निर्देषक मेथिआस प्लजले भन्नु भएको छ “यस्तो परिस्थितिबाट प्रभावित भएकाहरुले पुनः सुइ लगाएर खोप अभियानलाई निरन्तरता दिन जरुरी छ । यसले मात्र खोपबाट पूर्ण सुरक्षा प्राप्त भएको सुनिश्चित गर्न सकिनेछ । यदि कसैले पहिले सहि रुपमै खोप प्राप्त गरिसकेको भएपनि फेरि लगाउँदा केही फरक पर्नेछैन ।”
पुलिस अनुसन्धानमा अभियोगी नर्स खोप अभियान विरुद्ध रहेको पाइएको छ । सलाइन सल्युसन मान्छेका लागि हानिकारक नभएतापनि तीन हप्ताको बीचमा धेरै सङ्ख्यामा मानिसहरु यसबाट प्रभावित भएको हुन सक्ने बताइएको छ ।
मंगलबार मात्र जर्मनीमा चान्स्लर एन्जेला मर्केलले सबै नागरिकहरुमा खोप लगाउन अपील गर्नु भएको छ । डेल्टा भेरियेन्टका कारण देशभर संक्रमण दर बढ्दै गएकाले खोप अभियानमा अहिलेसम्मको सबै सफलता खेर जान सक्ने उहाँले बताउनु भएको हो ।उहाँले देशका ८० प्रतिशत जनसङ्ख्यामा छिटै खोप लगाइसक्ने आशा रहेको बताउनु भयो । हालसम्म ५५.१ प्रतिशत जर्मनहरुले पूरा डोज खोप लगाएका छन् ।आगामी सेप्टेम्बरदेखि खोप लगाइसकेका र योग्य जेष्ठ नागरिकहरुलाई तेस्रो बुस्टर डोजको कोभिड खोप लगाउन सुरु गरिने यसअघि जर्मन स्वास्थ्य मन्त्रायले जानकारी दिएको थियो ।