पहिरो प्रभावितहरुको जिम्मा प्रदेश सरकारले लिन्छ : मुख्यमन्त्री पोखरेल
१० भदौ । ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले गुल्मी सत्यवतीका पहिरो प्रभावितको पुनस्थापनाको जिम्मा प्रदेश सरकारले लिने बताएका छन् ।
मंगलबार गुल्मीमा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले यस्तो बताएका हुन् । ‘गुल्मी सत्यवतीको दुई ठाउँमा पहिरो जाँदा धेरै जनधनको क्षति भएको छ, ठुलोलुम्पेकमा बस्ति नै स्थानान्तरण गर्नुपर्ने भएको छ ।’ उनले भने, ‘यसको सबै जिम्मा प्रदेश सरकारले लिन्छ, जनताले आफ्नो भविष्यको बारेमा कुनै चिन्ता लिनुपर्दैन् ।’
प्रदेश सरकार आफैमा सक्षम भएकोले पुनस्थापनको लागि कसैको आश गरेर नबस्ने समेत उनले बताए । ‘केन्द्र सरकारले आवश्यक ठानेर सहयोग दिए स्वागत गर्छौ, तर मुख ताकेर बस्दैनौ ।’ उनले भने । त्यसका साथै उनले पहिलो काम त्यस क्षेत्रको अनुसन्धान रहेकोले प्रदेश सरकारले प्राविधिकको टोलि पठाएर अनुसन्धानमा सघाएको समेत उनले दाबी गरे । गत साउन १० गते सत्यवती गाँउपालिकाको लिम्घा र ठुलोलुम्केपमा पहिरो जादाँ १३ जनाको मृत्यु भएको थियो ।