Connect with us
Kapilvast Forest

थारू समुदायमा छैन ‘छुवाछूत र छाउप्रथा’

२०७६, ११ भाद्र बुधबारमा प्रकाशित

बाँके, ११ भदौ । पश्चिम नेपालका जिल्लामा छाउपडी प्रथा अहिले पनि कायमै छ । यद्यपि विभिन्न समयमा छाउपडीमुक्त गाउँ घोषणा भइरहेका पनि छन् । छाउगोठ भत्काउँदै छाउपडीमुक्त गाउँ घोषणा भएलगत्तै पुनः छाउगोठ बन्ने क्रम पनि रोकिएको पाइँदैन ।

योसँगै महीनावारी भएर छाउगोठमा सुतेका महिलाले मृत्युवरण गरेका समाचार आउने क्रम पनि उस्तै छ । छाउगोठमा सुतेका बेला बलात्कृत हुनु, सर्पले डस्नुजस्ता घटना भइरहेका छन् । खासगरी महीनावारी भएका महिलालाई भान्साकोठामा जान नदिने, खाना बनाउन नदिने, देवीदवताको पुजापाठ गर्नु हुँदैन भन्ने गलत मान्यताका कारण उनीहरुलाई घरभन्दा अलग गोठ (छाउगोठ) बनाएर बस्न बाध्य पारिन्छ ।

महीनावारी भएका महिलाले छुँदा, सँगै बसेर खाँदा वा बस्दा देउता रिसाउने, अनिष्ट हुनेजस्ता आरोप लगाइन्छ । तर, थारू समुदायका महिलाले महीनावारी बार्दैनन् । पश्चिम नेपालको बाँके, बर्दिया, दाङ, कैलाली र कञ्चनपुरमा रहेका थारू समुदायमा यो छाउप्रथा चल्दैन । थारू समुदायका महिलाले अहिलेसम्म महीनावारी बार्ने गरेका छैनन् । महिनावारी हुँदा नुहाइधुवाइ गर्छन्, खाना पकाउँछन्, पाहुना तथा घरका अन्य सदस्यलाई खुवाउँछन् र आफू पनि खान्छन् ।

उनीहरुलाई घरको कुनै कोठामा जान रोकटोक हुँदैन । थारू महिलालाई महीनावारी भएको बेला आफू हेपिएको र दुव्र्यवहार भएको अहिलेसम्म थाहा छैन । महीनावारी हुँदा र नहुँदा पनि परिवारको व्यवहार समान हुन्छ । त्यसैले पनि थारू महिला आफू हेपिएको वा फरक व्यवहार भएको ठान्दैनन् । बाँकेको बैजनाथ गाउँपालिका–१ की अस्मिता चौधरीले भनिन, “हामीलाई महीनावारीसँगै कुनै मतलव हुँदैन, महीनावारी हुँदा सरसफाइमा ध्यान दिन्छौँ, हामीलाई परिवारबाट पनि कुनै प्रकारको रोकटोक हुँदैन ।”

उनका अनुसार छुवाछूत नमान्ने भएकाले महीनावारी भएका बेला पनि थारू महिला नुहाइधुवाइ, सफासुग्घर भएर पुजा गर्ने ठाउँमा पनि जान्छन् । महीनावारी भएका बेलासमेत परिवारका सदस्यले समान व्यवहार गर्ने भएकाले अन्य दिनभन्दा कुनै फरक नपाएको बैजनाथ गाउँपालिका–१ कै जयन्ती चौधरीको भनाइ छ ।“अन्य समुदायजस्तो थारू समुदायमा महीनावारी बार्नुपर्दैन, महीनावारी बार्ने क्रममा जघन्य अपराध र मृत्युका घटनाले मलाई झस्काउँछ”, उनले भनिन “अन्य समुदायले पनि महीनावारी बार्नु हुँदैन ।” महीनावारी भएदेखि एक दिन पनि बार्न नपरेको स्मरण गर्दै उहाँले थारू समुदायले महीनावारीलाई सामान्यरुपमा लिने गरेको बताईन ।

थारू समुदाय प्रकृतिपुजक भएकाले महीनावारीलाई प्रकृतिको वरदानका रुपमा लिएर यसलाई सामान्यरुपमा लिएको उनको भनाइ छ । मानवअधिकारकर्मी सुशील चौधरीले थारू समुदायमा महीनावारी बार्ने चलन पहिलेदेखि नै नभएको बताए । हाल आएर अन्य समुदायको सिको गर्दै यदाकदारुपमा बार्ने चलन शुरु भएको भन्ने सुनिन थालेको उनको भनाइ छ ।उनले भने, “अहिले अन्य समुदायको सिको गर्न थालिएको छ, आमरुपमा थारू समुदायमा महीनावारी बार्ने चलन नै छैन, गलत परम्पराको सिको गर्नुहुँदैन ।” अधिकारकर्मी चौधरीका अनुसार परिवारमा आमा÷सासु वा महिला अभिभावकलाई मात्रै छोरी÷बुहारीको महीनावारी हुने समयबारे जानकारी राख्ने गर्छन् । “थारू समुदाय महिलाप्रधान भएकाले पनि त्यसो भएको हुनसक्छ”, उनले भने ।

महीनावारीको समयमा घरमुली महिलालाई मात्रै जानकारी हुन्छ र महीनावारी भएका महिलाको पोषणमा ख्याल गर्ने तथा उनीहरुलाई गह्रुँगो भारी बोक्न दिइँदैन । यो समुदायमा जातीय छुवाछूत पनि भेटिँदैन । यो समुदायमा तल्लो, उपल्लो, दलितजस्ता वर्ग छैनन् । राणा प्रधानमन्त्री जङ्गबहादुर राणाका पालामा ल्याएको मुलुकी ऐन १९१० मा मासिन्या (मतवाली) अर्थात् छोइछिटो लाउनु नपर्ने व्यस्वस्था गरिएको थियो ।त्यसैको प्रभाव पनि हुनसक्छ, थारू समुदायभित्र छुवाछूत प्रथा छैन । थारू समुदायमा विवाह गर्दा पनि जात हेरिँदैन । जसले जुन जातसँग बिहे गरे पनि स्वीकारयोग्य हुन्छ । कसले कुन जातको केटा वा केटीसँग विवाह गर्ने भन्ने नै हुँदैन । अधिकारकर्मी चौधरीले भने, “अन्य समुदायभित्रको विवाहलाई पनि थारू समुदायले सहजै स्वीकार गर्ने गर्छ । विवाहमा जातको कुनै मतलव नै हुँदैन ।”

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu