प्यूठानमा उपमेयर सहित छ जनप्रतिनिधिले रोजे नेकपा एकीकृत समाजवादी पार्टी
बिजुवार- प्यूठानमा नेकपा एमालेबाट स्थानीय तहमा निर्वाचित भएका ६ जना जनप्रतिनिधि नेकपा एकिकृत समाजवादी पार्टीमा सनाखत गर्नुभएको छ ।
सनाखत गर्नेहरुमा प्यूठान नगरपालिकाकी उपप्रमुख शान्ता आचार्य, कार्यपालिका सदस्य चित्रकली नगरकोटी, प्यूठान नगरपालिका –९ का वडा सदस्य निम बहादुर घर्ती र राजेन्द्र केसी रहेका छन् । चारै जनाले आफै निर्वाचन कार्यालय प्यूठानमा उपस्थित भएर सनाखत गरेको बताउनुभएको हो ।
आइतबार मात्र सरुमारानी गाउँपालिकाका कार्यपालिका सदस्य मोहम्मद हलिम र टंक सुनारले नेकपा (एकीकृत समाजवादी) पार्टी रोज्नुभएको थियो ।
सोमवार सम्म ६ जना जनप्रतिनिधिले सनाखत गर्नुभएको निमित्त निर्वाचन अधिकारी वीरेन्द्र घर्तीले जानकारी दिनुभयो।
नेकपा समाजवादीका जिल्ला सचिव दीपेन्द्र केसीले २२ गते सम्म जिल्लाका स्थानीय तहका थुप्रै जनप्रतिनिधि सनाखत गर्ने तयारी भई रहेको दाबी गर्नुभयो। पार्टी अलग भएसँगै प्यूठानमा एकिकृत समाजबादीले नेकपा एमालेका कार्यकर्ता तथा स्थानीय चुनावमा निर्वाचित पदाधिकारीहरुलाई आफूतिर तान्ने काम गरिरहेका छन् ।
एमाले र जसपाबाट निर्वाचित जनप्रतिनिधिलाई नयाँ दल रोज्नका लागी राजनीतिक दल सम्बन्धी ऐन र राजनीतिक दल सम्बन्धी नियमावली अनुसार नयाँ दल गठनको मितिले २१ दिनभित्र निर्वाचन कार्यालयमा सनाखत गर्नुपर्छ ।